अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

गल्याङमा शुभकामना आदानप्रदान

वालिङ, २३ अशोज ।
गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापाले नगरपालिकामा सोचेजस्तो विकास गर्न नसकिएको स्विकार गर्नुभएको छ । उहाँले नयाँ नगरपालिका भएको र आवश्यक निर्देशिका पनि नआएकाले सोचेजस्तो काम गर्न नसकिएको बताउनुभयो । 
 
गल्याङ नगरपालिकामा बैशाख ३१ मा नयाँ प्रतिनिधि चयन भएपनि विकासले गति लिन नसकेको गुनासो आइरहेका बेला कार्यबहाक प्रमुखको यस्तो स्वीकारोक्ति आएको हो । गल्याङ नगरपालिका वडा नम्बर तीनको आयोजनामा आईतबार भएको चियापान कार्यक्रममा थापाले विकासका लागि केही प्रयास भने गरिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो –‘जनताले सोचेजस्तो विकास गर्न सकिएको छैन तर केही पहल भएको छ ।’ 
 
थापाले गल्याङ बजारको फोहोर व्यवस्थापन गर्न परीक्षणको रुपमा ६ महिनाका लागि एउटा संस्थालाई जिम्मा लगाइएको र उपलब्ध खानेपानीको परिचालन गरिएको बताउनुभयो । पानीको थप श्रोतका लागि भएको पहलबारे भने उहाँले केही खुलाउनुभएन । थापाले निर्वार्चित सबै वडाका जनप्रतिनिधिहरुलाई कुनै भेदभाव नगरिएको दावी पनि गर्नुभयो । 
 
कार्यक्रमको सभापति रहनुभएका वडा नम्बर तीनका वडा अध्यक्ष महेश भट्टराईले नगरपालिकाको वडामा बजेट विनियोजन भैसकेको भन्दै उपभोक्ता समिति गठनको क्रममा पूर्वाग्रह नराख्न सबैमा आग्रह गर्नुभयो । उहाँले वडा नम्बर तीनका लागि नगरपालिकाबाट ५० लाख तथा कार्यपालिकाबाट ६३ लाख बजेट आएको जानकारी दिदै बजेट बाँडफाँडको अवस्थाबारे पनि जानकारी गराउनुभएको थियो । 
 
बजार क्षेत्रमा ढल निकास, बाटो निर्माण, खानेपानी जस्ता शिर्षकमा बढी खर्च गरिएको भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर चारका वडा अध्यक्ष नेत्रप्रसाद पाण्डेले आफ्नो वडालाई नमूना वडाका रुपमा विकास गर्ने काममा आँफु जुटेको बताउनुभयो । उहाँले वडा नम्बर चार भित्रका सबै घरहरुमा गुलाफी रङको प्रयोग गर्ने काम थालिएको जानकारी दिनुभयो । 
 
विकास जादुको छडी नभएको भन्दै पाण्डेले विकासको पहलमा आफुहरु जुटीरहेको दावी गर्नुभयो । नेकपा एमाले प्रदेश नम्बर चारका निर्वाचन कमिटी संयोजक पुण्य भुसालले विकास र सकारात्मक कामका लागि दलगत स्वार्थबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली संस्कृति र परम्पराले भाइचारा बढाउने काम गरेको बताउनुभयो । नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि गुरुप्रसाद भट्टराईले गुणात्मक शिक्षा, खानेपानीको पहुँच, ढल निकास जस्ता विकासका विषयमा सबै पक्षले छलफल गरी अल्पकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार टेकनाथ न्यौपानेले सबै पक्ष जुटेर सम्मृद्ध गल्याङ बनाउनुपर्ने बताउनुभयो । 
 
यस्तै, जनमुक्ति पार्टीका पदम गाहाले जनताले सोचेजस्तो काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । नेपाली हिन्दुहरुको महान चाड विजयादशमी, दिपावली, नेपालसंबत तथा छठ पर्वको अवसरमा गल्याङ नगरपालिका तीनले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । गल्याङ नगरपालिका तीनका वडा सचिव निलकण्ठ बस्यालले सञ्चालन गर्नुभएको कार्यक्रमको सञ्चालन वडा सदस्य सुमित्रा खड्काले गर्नुभएको थियो ।       
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...