अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

कार्तिकमा औद्योेगिक व्यापार मेला हुने

वालिङ २९, अशोज ।
राष्ट्रिय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवं सांस्कृतिक उत्सव २०७४ यही कार्तिक ३० गतेदेखि स्याङ्जाको वालिङमा गरिने भएको छ । भ्रमण वर्ष २०१७ लाई लक्षित गर्दै धार्मिक सांस्कृतिक एवं पर्यटनलाई प्रर्वद्धन गरौं भ्रमण वर्ष २०१७ लाई सफल पारौं भन्ने नाराका साथ कनेक्टिङ सेन्टर प्रालि वालिङले आयोजना गर्ने भएको हो । 
 
स्याङ्जा जिल्ला प्रशस्त प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यले मेलाको आयोजना गरिएको सेन्टरका अध्यक्ष धु्रवप्रसाद सुवेदीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । 
 
यस्ता मेला तथा महोत्सवले सांस्कृतिक एवं धार्मिक एकतामा राष्ट्रलाई बाँध्ने काम गरेको भन्दै जिल्लामा रहेका पर्यटकीय सम्भावना रहेका स्थलहरुका साथै यहाँ रहेका विविध सांस्कृतिक महत्वलाई प्रचार प्रसार गर्दै पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक दामोदर लम्सालले बताउनुभयो । 
 
कार्यक्रममा नगरप्रमुख दिलीपप्रताप खांँण, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा र उत्सवका मिडिया संयोजक चुत्रबहादुर महतले उत्सवले समग्र जिल्लाको पहिचानलाई माथि उकास्न मद्दत पुग्ने बताउनुभयो । मेलाले व्यापारी तथा व्यवसायीहरुको स्तरवृद्धि गर्ने, बालबालिकाहरुलाई मनोरञ्जनात्मक क्रियाकलापहरुमा सहभागिता गराउने, स्थानीय उत्पादनको प्रवद्र्धनका साथै बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्य समेत राखिएको छ । 
 
विभिन्न प्रकृतिका २ सय ५० स्टलहरु रहने मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, हास्यँ प्रहसन रहनेछ । ३ लाख दर्शकले अवलोकन गर्ने उत्सवको लागि आयोजकले ७१ लाख खर्चको अनुमान गरेको छ भने ७४ लाख आम्दानी गर्दै ३ लाख बचत गर्ने लक्ष्य आयोजकले लिएका छन् । 
 
बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिने समेत आयोजकको भनाई छ ।  मेला मंसिर ११ गतेसम्म ११ दिनसम्म चल्नेछ । सेन्टरका अध्यक्ष धु्रवप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रको सञ्चालन सदस्य रविन रेग्मीले गर्नुभएको थियो । 
  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...