अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

निर्वाचन नजिकिँदै गर्दा बामगठबन्धनको चुनावी अभियान तिव्र

news

वालिङ, २८ कार्तिक ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले र माओवादीको  संयुक्त गठबन्धन बाम गठबन्धनले प्रचारप्रसार तथा मतदाता भेटघाटलाई तीव्र पारेका छन् । यसैक्रममा सोमबार वालिङ ८ काफलडाँडामा टोल भेला गरिएको छ ।
भेलाको सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पदमा अर्यालले देशमा समृद्धि र स्थिर सरकारकालागि बाम गठबन्धनको निर्माण भएको भन्दै स्याङ्जा जिल्लालाई नमूना जिल्लाको रुपमा विकास गर्न, यहाँका कृषि, पर्यटनका सम्भावनाहरुलाई पहिचान गर्दै यहाँका जनताको जीवनस्तर फेर्नकालागि आँफू प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ का प्रदेश सभा क उम्मेदवार मोहन रेग्मीले यहाँका युवाहरु रोजगारीकालागि अन्य जिल्ला तथा विदेशमा भौँतारिने अवस्थाको अन्त्य गर्दै यहाँ भएका सम्भाव्यताको खोजी गर्दै युवा स्वरोजगारीकालागि आँफू कटिवद्ध रहेको बताउनुभयो ।
त्यस्तै यता वालिङ ६ को भरुवा र साठीघरमा समेत चुनावी भेला गरिएको छ । साठीघरमा भएको भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेदवार पदमा अर्यालले बाम गठबन्धनको एकता जनता र मुलुकको आवश्यकता भएको भन्दै यसमा अनावश्यक टिका टिप्पणी गर्नु मुर्खता भएको भन्दै विपक्षीका भ्रमात्मक प्रचारमा नलाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा क उम्मेदवार मोहन रेग्मी, एमालेका उदय श्रेष्ठ, माओवादीका तारा भुसाल, एमालेका दिलीप बगालेलगायतले बोल्नुभएको थियो ।  एमालेका नगर संगठन कमिटी सदस्य खिमबहादुर खाम्चाको स्वागतसंँगै सुरु भएको कार्यक्रम हरिबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन युवा संघका जिल्ला अध्यक्ष दामोदर तिवारीले गर्नुभएको थियो । यसैबीच
प्रतिनिधि सभा उम्मेदवार पदमा अर्याल र प्रदेश सभा उम्मेदवार मोहन रेग्मीले वालिङ बजारमा घरदैलो गर्नुभएको छ ।
अर्याल र रेग्मीले आफ्नो पार्टीको नीति कार्यक्रम तथा एजेण्डाहरु स्पष्ट रहेकाले समग्र वालिङ हुँदै जिल्लालाई नै नमूनाको रुपमा स्थापित गर्नकालागि आर्थिक, सामाजिक, धार्मिकलगायतलका विभिन्न दृष्टिकोणसहितको पार्टी भएकाले मतदाताहरुले विश्वास गर्ने बताउनुभयो । त्यस्तै उता
पित्लेकमा पनि उम्मेदवार र मतदाताहरुबीच अन्तरक्रिया भयो । प्रतिनिधि सभा उम्मेदवार पदमा अर्याल र प्रदेश सभा उम्मेदवार मोहन रेग्मीले अन्तरक्रियामा पित्लेकमा कृषिको निकै सम्भावना रहेकाले यहाँका स्थानीयहरुलाई आधुनिक कृषि व्यवसायमा संलग्नता गराउनकालागि आफ्नो पहल रहने बताउनुभयो । आफ्नो उम्मेदवार मात्र जिल्लाको विकास र समृद्धिकालागि भएको भन्दै वास्तवमै जिल्लाको मुहार फेर्न गठबन्धनको जीत हुनुपर्ने बताउनुभयो ।
उता संयुक्त बाम गठबन्धनले अर्जुनचौपारी गाउँपालिका ३ मा फननारायण काफ्लेको अध्यक्षतामा एकसय २५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीको सह संयोजकमा दयाराम पौडेल रहनुभएको छ ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक चक्रबहादुर गुरुङले गठबन्धनको जीत हुने देखेर काँग्रेस डराएको बताउनुभयो । कार्यक्रममा सह संयोजक मोहनबहादुर अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो ।
उता नेकपा एमाले र बाम गठवन्धन सम्मिलित बाम गठबन्धनको नगरपालिकास्तरीय भेला स्याङ्जाको गल्याङ्मा सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर चार निर्वाचन कमिटीका संयोजक पुण्य भुसालले बाम गठवन्धनलाई जुनसुकै हालतमा विजय गराएरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले बाम गठवन्धनको चुनाव चिन्ह सूर्य तथा हँसिया हथौडामा भोट हाल्न जनताकासंँग सवै नेता तथा कार्यकर्ताहरुले अपील गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा निवर्तमान सांसद मुक्ति पाठक, स्याङ्जा क्षेत्र नम्बर–२ प्रदेश नम्बर ख का उम्मेदवार सूर्यप्रसाद गैह्रे (पारस), गल्याङ नगरपालिका उप–प्रमुख देवीसरा थापालगायतले बोल्नुभएको थियो ।
भेलामा भुपराज अधिकारी संयोजक तथा विष्णु क्षेत्री सह संयोजक रहने गरी ७०१ सदस्यीय नगरपालिका स्तरीय चुनाव परिचालन तथा प्रचार प्रचार समिति गठन गरिएको छ । त्यस्तै पवन रानाको संयोजकत्वमा ३०१ सदस्य प्रगतिशील युवा समिति गठन गरिएको छ ।
त्यस्तै रामु सापकोटाको संयोजकत्वमा ३१ सदस्य विद्यार्थी कमिटी गठन गरिएको छ । त्यस्तै राजेन्द्र खनालको संयोजकत्वमा शिक्षकको समिति गठन गएिको छ । त्यस्तै सुवेदार यौबहादुर रानाको संयोजकत्वमा भूपू सैनिक संगठन निर्माण गरिएको छ ।
देवीसरा थापाको संयोजकत्वमा ३१ सदस्य महिला संगठन समिति निर्माण गरिएको छ । सोमबार उम्मेदवार गैह्रेसहितको टोलीले गल्याङ नगरपालिकाको गल्कोट, तुलसीभञ्ज्याङ, मालुङ्गा, राम्दी लगायतका स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गरेको थियो । गल्याङमा भएको कार्यक्रमको सहजीकरण तथा सञ्चालन लोकेन्द्र थापा मगरले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...