अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

आयोगले काम जारी

काठमाडौ, ४ पौष ।
निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणामलाई एकिकृत गर्ने काम जारी राखेको छ ।
 
प्रतिनिधिसभाको मतपरिणामलाई एक ठाउँमा र सातवटा प्रदेशका सातवटै ठाउँमा एकीकृत गरी ती तथ्याङकहरुलाई रुजु गर्ने कार्य जारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार केही दिनभित्रै दलहरुले प्राप्त गर्ने सिटको बाँडबाँड गरिनेछ । प्रतिनिधि सभाको १६५ निर्वाचन र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले हस्ताक्षर गरेको लिखित आधिकारिक कागजातका आधारमा मतपरिणामलाई केन्द्रीय स्तरमा एकमुष्ट बनाउने कार्य भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।
 
प्रतिनिधिसभातर्फ ४९ राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारहरुको बन्दसूची आयोगमा बुझाएका छन् । त्यसैगरी, प्रदेशसभातर्फ ५३ वटा राजनीतिक दलले उम्मेदवारहरुको बन्दसूची बुझाएका छन् । मतपरिणामलाई रुजु गर्ने कार्य सकेपछि प्रतिनिधिसभातर्फ तीन प्रतिशत वा सोभन्दा माथि मत प्राप्त गर्ने र त्योभन्दा घटी मत प्राप्त गर्ने दलको सूची तयार गरिने छ ।
 
 
 
यसैगरी, सातवटै प्रदेशको अलग–अलग प्रादेशिक मतपरिणामलाई एकीकृत गरी डेढ प्रतिशत वा सोभन्दा बढी र कम पाउने दलहरूको सूची बनाइने छ । तोकिएको मतप्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलहरूको मतलाई ‘सेन्ट लग’ विधिबाट सिट विभाजन गरी दलको सिट बाँडफाँड प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ ।
 
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या टुंगो लगाई राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी भैरहेको जनाएको छ । सरकारले एकल संक्रमणीय बिधिद्धारा राष्ट्रिय सभाको गठन गर्ने अध्यादेश राष्ट्रपति समक्ष पेश गरेपछि दलहरुबीच दुरी बढेपनि आयोगले भने प्रतिवेदन तयारीको काम अघि बढिरहेको जनाएको हो ।
 
आयोगका प्रबक्ता नबराज ढकालले निर्वाचन आयोगले प्रतिबेदन निर्माणका लागि प्रक्रियागत कामहरु भईरहेको बताउँदै दलहरुको सिट निर्धारणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । आन्तरिक काम सकेर आयोगले दलहरुलाई समानुपातिकतर्फको सांसद चुन्न सात दिनको समयसीमा सहित पत्र पठाउने उहाँले बताउनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...