अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

फोहरबाट मोहोर कमाउँदै वालिङ नगरपालिका

news

तोलाकान्त बगाले
०७ बैशाख 
देशका विभिन्न शहरमा फोहर मैला ब्यवस्थापन चुनौति बनिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहर मैला बिक्रीबाट आम्दानी लिंदै आएको छ । वालिङ नगरपालिकाले फोहर मैला संकलन सुरु गरेको ४ वर्षको अवधिमा सत्र लाख ३५ हजार २ सय १८ रुपैयाँ फोहर मैला विक्रीबाट आम्दानी गरेको हो । आर्थिक वर्ष २०७१÷०७२ मा एक लाख ७९ हजार, २०७२÷०७३ मा तीन लाख ४९ हजार ९ सय ९०, आ.व.२०७३÷०७४ मा सात लाख २४ हजार ८ सय १५ र चालु आर्थिक वर्षको हालसम्म चार लाख ८१ हजार ४ सय १३ रुपैयाँ फोहर मैला विक्रीबाट आम्दानी गरेको दिदी बहिनी एवं समाज उत्थान गैर सरकारी संस्थाका अध्यक्ष यामप्रसाद भण्डारी (कृष्ण) ले बताउनुभयो । वालिङ नगरपालिका र स्थानीय दिदीबहिनी एवं समाज उत्थान गैर सरकारी संस्थाबीच फोहर मैला व्यवस्थापनको चार खम्वे अवधारणा अनुसार २०७१ असोजमा सम्झौता भई फोहर संकलन सुरु गरेको हो । “हामीले दैनिक बजारबाट कुहिने, नकुहिने र शिसाजन्य वस्तुहरु वर्गीकरण गरेर संकलन गर्ने गरेका छौं” अध्यक्ष भण्डारीले भन्नुभयो, “संकलित बस्तुहरुलाई सरसफाई केन्द्रमा लगेर कुहिनेलाई कम्पोष्ट मल बनाउने र नकुहिने बस्तुलाई पुनः सुक्ष्म वर्गीकरण गरी विक्री वितरण गर्नुनै हाम्रो सवल पक्ष हो ।” फोहर मैला विक्रीबाट ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने सरसफाई केन्द्रको खर्च ब्यवस्थापन, कर्मचारीहरुलाई मास्क, पञ्जा, एप्रोन, स्वास्थ्योपचार, सरसफाई केन्द्रमा कार्यरत ५ जना कर्मचारीहरुको स्वास्थ्य बीमा तथा ५ लाख बराबरको दुर्घटना बीमामा खर्च गर्ने गरिएको छ । “नमूनाकोरुपमा रहेको हाम्रो फोहर मैला संकलन केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाहरुबाट आउने गर्नुहुन्छ” वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, “यहाँ आएर अवलोकन गरेर फर्केपछि आ आफ्नो ठाउँमा यही मोडलबाट फोहर संकलन कार्य थाल्नुभएको जानकारीहरु प्राप्त भएको छ जसले गर्दा पनि हामीलाई यस कार्यमा थप उर्जा मिलेको छ ।” संघीय सरकारको ‘फोहर मैला ब्यवस्थापन ऐन २०६८’ अन्तर्गत रहेर वालिङ नगरपालिकाले ‘फोहर मैला ब्यवस्थापन तथा सरसफाई कार्यविधि २०७५’ निर्माणको क्रममा रहेको वालिङ नगरपालिकाले जनाएको छ । “वालिङ नगरपालिकाले फोहर मैलाको क्षेत्रमा गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै हाम्रो नगरपालिका उत्कृष्ट घोषित हुँदै आएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अहिलेको सरसफाई प्रणालीलाई अझै ब्यवस्थित र प्रभावकारीरुपमा टोल टोलमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्ने छौं ।” वालिङ नगरपालिकाको सरसफाई केन्द्रमा विभिन्न संरचनाहरु निर्माणका लागि नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले फोहर मैला संकलन केन्द्रसम्म पुग्नका लागि झण्डै २.५ कि.मी. ट्रयाक, ८ च्याम्वरको स्टोर निर्माण, ३३ रोपनी जग्गामा तारवार गरि करिव ५०० विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको छ । फोहरमैला व्यवस्थापन गर्दा शहरको सौन्दर्यता वढेको र स्वास्थ्य, वातावरण लगायतका विषयमा प्रत्यक्ष लाभ हुनुका साथै पर्यटकीय हिसावले पनि कार्यक्रमले राम्रो प्रभाव परेको छ ।दिनहुँ नगरका विभिन्न भागहरुमा कुहिने र नकुहिने गरी छुट्टाछुट्टै दुई वटा ट्रिपरहरु फोहर संकलनका लागि जाने गरेका छन् भने प्रत्येक दुई महिनामा शिसा संकलन गर्ने गरिएको छ । सरकारी तवरबाट र सरोकारवालाहरुले नियमन कार्यलाई प्रभावकारी बनाउने, काम गर्ने संस्था र संलग्न व्यक्तिहरुलाई प्रोत्साहन गर्ने, जनस्तरमा फोहरको वर्गीकरण तथा व्यवस्थापन सम्बन्धमा क्षमता अभिवृद्धि गरेमा वालिङ नगरपालिकाको फोहरमैला व्यवस्थापनको उत्कृष्टता कायम राखिराख्न सकिने कुरा स्थानीय व्यक्तिहरुको मत रहेको छ । “वालिङ नगरपालिकाले फोहर मैला संकलनका क्षेत्रमा उदाहरणीय कार्य गरेको छ” आँबु खैरेनी गाउँपालिका तनहुँका अध्यक्ष गिरबहादुर थापाले भन्नुभयो, “त्यसको अवलोकन गरी हामीले पनि २०७४ पुषदेखि सोही मोडलबाट फोहोर संकलन कार्य थालेका छौं ।” हालसम्म विभिन्न नगरपालिका, विद्यालय, अन्य सरकारी तथा गैर सरकारी निकायहरुबाट ३२० भन्दा बढी समूहले वालिङ नगरपालिकाको फोहर मैला व्यवस्थापनको मोडल अध्ययन गरिसकेका छन् । “वालिङ नगरपालिकाले त्यति ठुलो बजारको फोहरलाई पनि गाई गोठको फोहर मैलाको ब्यवस्थापन गरे जसरी सजिलो तरिकाले ब्यवस्थापन गरी आर्थिक लाभ गरेको देखियो” बेनी नगरपालिका म्याग्दीका कार्यकारी अधिकृत तेजराज शर्माले भन्नुभयो, “हाम्रो क्षेत्रमा फोहोर संकलन केन्द्र निर्माण गर्नका लागि प्रभावित क्षेत्र (बन समूह) का बासिन्दालाई वालिङमा लगेर देखायौं र उहाँहरु सहमति हुनुभयो तर अर्को समुदायले फेरि विरोध गरेकोछ हामी छलफलमा छौं ।”फोहर मैला व्यवस्थापन केन्द्र राख्न विवाद भएका र स्थानीय जनताबाट अवरोध गरी व्यवस्थापन केन्द्र सञ्चालन गर्न नसकेका नगरपालिकाहरुले प्रभावित क्षेत्रका आफ्ना स्थानीय जनताहरुलाई वालिङ नगरपालिकाको सरसफाई केन्द्रमा ल्याई मोडल देखाएर विवाद समाधान गर्ने गरेका अध्यक्ष भण्डारीको भनाई थियो । 
 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...