अहिले तरंगमा

केहि छिनमा

Aandhikhola Khabar

समाचार

गल्याङ वडा नं.१० ग्रिन वडाको रुपमा विकास हुँदै

news

रेडियो आँधीखोला, 
बैसाख १७ वालिङ ।
स्याङजाको गल्याङ नगरपालिका वडा नं. १० लाई ग्रिन वडाको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढाईएको छ । वडालाई ग्रिन वडाको रुपमा विकास गर्नका लागी अहिले गाउँमा विभिन्न किसिमका विरुवाहरुको नर्सरी गरिएको छ । वडामा रहेका बाटोहरु तथा खाली जग्गामा वृक्षारोपण गरी वडालाई ग्रिन वडा बनाउने योजना रहेको वडा अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनीले जानकारी दिनुभयो । विभिन्न किसिमका १५ हजार विरुवाहरुलाई नर्सरी गरी वडामा रोपण गरिनेछ । हरेक वर्ष १५ हजारका दरले विरुवाहरु रोपण गरिने अध्यक्ष पंगेनीले बताउनुभयो । ३ हजार विभिन्न फलफुलका विरुवाहरु र अन्य सल्लो, खयर, कपुर, कल्पी, धुपी, विभिन्न घाँसे विरुवाहरुलाई अहिले नर्सरीमा राखिएको छ । 
अध्यक्ष पंगेनीले भन्नुभयो, “अहिले सामान्यरुपको ओत मात्रै लाग्ने नर्सरी निर्माण गरिएको छ । यसरी सामान्य रुपमा गर्दा पनि ३ लाख लाग्ने अनुमान गरिएको छ” । नर्सरीका लागी स्थानीयहरुले समेत अहिले श्रमदान गरिरहेका छन् । वडाभरी रहेका घरधुरीमा प्रतिघरधुरी ७ वटाका दरले वितरण गरिने अध्यक्ष पंगेनीले बताउनुभयो । ग्रामिण भेगमा मानिसको दैनिक प्रयोजनका लागी रुखहरु काटिने तर नयाँ विरुवा नथपिने गर्दा वनजंगल मासिने र विभिन्न दैवि घटनाहरु घट्ने, पानीका मुहानहरु सुक्ने जस्ता विविध समस्याहरु देखिने हुँदा यस्ता समस्याहरु उत्पन्न हुन नदिनको लागी पनि यो योजना ल्याईएको उहाँले बताउनुभयो । वन कार्यालयको प्राविधिक सहयोगमा नर्सरीको रेखदेखका लागी त्यहाँका स्थानीय तेजनिधि खनालाई लगाईएको अध्यक्ष पंगेनीले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...