समाचार
अर्जुनचौपारीमा चुनौती संभावना विषयक विचार गोष्ठी
रेडियो आँधीखोला,
वलिङ, १९ जेष्ठ ।
स्याङजाको अर्जुनचौपारि गाउँपालिकामा गाउँपालिकाको विकासका सम्भावना र चुनौती विषयक एकदिने विचार गोष्ठी सम्पन्न भएको छ । अर्जुनचौपारी गाउँपालिका पोखरा सम्पर्क समाजको आयोजना तथा अर्जुनचौपारी गाउँपालिकाको व्यवस्थापनमा शनिबार गोष्ठी सञ्चालन गरिएको हो । कार्यक्रममा गाउँपालिकामा वनजंगल, कृषि, शिक्षा, यातायात, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रको वर्तमान अवस्था, देखिएका समस्या, चुनौति र सम्भावना तथा समस्या समाधानका उपायहरुको विषयमा समूहगत छलफल गरिएको हो । छलफलबाट आएको निष्कर्षलाई गाउँसभामा पेश गरी निर्णय गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख दिर्घनारायण अर्यालले सुखी र समृद्ध गाउँपालिकाको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । उहाँले यस कार्यmत्रमले नमुना गाउँपालिकाको रुपमा विकास गर्नको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपप्रमुख चिनमाया गुरुङ, पूर्व जिल्ला विकास समिति उपसभापति लक्ष्मीपति पौडेल, नेपाल कम्युनिष्ट पार्टीका मोहनबहादुर अधिकारी, नेपाली कांग्रेसका बोधनारायण रेग्मी , अर्जुनचौपारी गाउँपालिका पोखरा सम्पर्क समाजका अध्यक्ष भवानी शंकर पौडेल, उपाध्यक्ष गोविन्द काफ्ले, सल्लाहकार उमाकान्त पौडेल, लगायतले जनताको आवश्यकताको आधारमा योजना ल्याएर समयमा नै कार्यान्वयन भए विकासको ढोका खोलिने बताएका थिए । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता ख्यामनारायण खनालले गाउँपालिकाको वर्तमान अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो भने कृष्णप्रसाद चापागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।