अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

"विजय र उत्सवको पर्व विजया दसैं "

news


ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)
    आश्विन शुक्ल प्रतिपदादेखी पूर्णिमासम्मका पन्ध्र दिनलाई वडा दसैं भनिन्छ ।दसैं नेपालीहरुक सबैभन्दा प्रिय चाड हो। नेपालको राष्ट्रिय चाड पनि हो। खासगरी दसैं आश्विन प्रतिपदादेखि सुरु भई पूर्णिमासम्म   पन्ध्र दिन मनाइन्छ तापनि दसैको दिन महत्त्वपूर्ण दिन दशमी तिथि नै हो। यसलाई विजया दशमी पनि भनिन्छ। फेरि प्रतिपदादेखी नवमीसम्मका नौदिनलाई नवरात्री (नौरथा) भनिन्छ ।

      दसैंको प्रथम दिन प्रतिपदालाई घटस्थापना भनिन्छ । यस दिन घरघरमा  शुभ साइतमा घटस्थापना गरी जमरा राखिन्छ ।यसै दिनदेखि दुर्गापूजा सुरु हुन्छ ।भगवतीका प्रत्येक दिन भिन्दाभिन्दै रुपको पूजा गरिन्छ ।पहिलो दिन शैलपुत्री नाम गरेकी देवीको आराधना गरिन्छ ।दोस्रो दिन ब्राह्मचारिणी , तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा , पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौ दिन कालरात्रीनाम गरेकी देवीको पूजा गरिन्छ ।सप्तमीको दिनलाई फुलपाती पनि भनिन्छ । सप्तमीको दिन उचित साइतमा नवपत्रीका वा नौ थरीका फुलपाती भित्र्यान्छ। यस दिन 
फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो,
माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका
पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको
स्थानमा भित्र्याइन्छ। 
अष्टमीको दिन महागौरीको पूजा गरिन्छ । यसैदिन महालक्ष्मीको पूजा गरि घरघरमा खड्ग स्थापना गरिन्छ । अष्टमी र नवमीका बिचको रात्रीलाई कालरात्री पनि भनिन्छ । रातभर जागरण बस्ने र गुप्त पूजा गर्ने चलन छ । मन्दिर र कोटहरूमा नारिकेल( नरिबल ) र कुष्माण्ड (कुभिण्डो)को बलि दिन्छन् ।महानवमीको दिन सिद्धिदात्री भगवतीको पूजा गरिन्छ । दशमीको दिन आआफ्नो घरको पूजाकोठामा वा मन्दिरमा  दुर्गा भवानीको पूजापाठ गरिन्छ। राता अक्षता र जमरा देवीलाई चढाइन्छ र त्यही अक्षता, जमरा र प्रसाद मान्यजनबाट ग्रहण गरी आशिर्वाद लिइन्छ। टिकाको साइत सुरु भएपछि दिनभरि मन्यजनबाट टिका,जमरा, प्रसाद ग्रहण गर्ने काम दिन भर चल्दछ। दसैंमा आशिर्वाद दिदा 
"आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे।
ऐश्वर्यं  नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्यं शान्तनवे वलं हलधरे सत्यञ्च कुन्तीसुते ।
बिज्ञानं बिदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।। 
भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः  प्रसीदतु।
रक्षतु त्वां  सदा देवी आशिष: सन्तु सर्वदा ।।
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।
दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते।।  
जयत्वं  देवी चामुण्डे जय भूतार्तिहारिणी । 
जय सर्वगते देवि कालरात्री नमोsस्तुते ।। "
गरिएका श्लोक भन्ने चलन छ । श्लोक उच्चारण गर्न नजान्ने हरूले पनि सुख,शान्ति, समृद्धि र दीर्घायु कामना गर्दै आशिर्वाद दिन्छन् ।
कोजाग्रत पूणिर्माको दिन सम्म नै टिका लगाउने , मिठो मसिनो खाने आफन्त सङ्ग भेटघाट गर्ने चलन छ।पौराणिक कथनअनुसार अयोध्याका राजा रामले लङ्काका राजा रावणले सीतालाई हरण गरी लैजादा उनीसँग युद्ध गर्न शक्तिको उपासना गरे । शक्ति स्वरुप भगवतीमाताको  उपासना गरी श्रीरामले दुष्ट रावण सङ्गको युद्ध हुदा दशमीको दिन नै विजय प्राप्त गरेका थिए । त्यसै दिन विजया दशमी मानी टीका लगाउने परम्परा चलिआएको हो भन्ने भनाइ पनि छ।
त्यसैगरी अर्को मान्यता अनुसार परापूर्वकालमा दैत्यहरूको आतंकबाट, आतंकित भएका देवताहरूले दुर्गा भवानीको आरधाना गरे, अनि दुर्गा भवानी पनि प्रकट भइन । त्यसपछि देवगणलाई सताउने शुम्भ, निशुम्भ र रक्तबीज महिषासुर आदि जस्ता असुरहरुको समेत विनाश गरि उनले असत्यलाई पराजित गरिन् र सत्यको संरक्षण गरिन। त्यसै खुसियालीमा देवीको पूजा गरेर नै पर्व मनाउने प्रचलन चलेको हो । यसरी सत्यको असत्यमाथि, अनि न्यायले अन्यायमाथि विजय प्राप्त गरेको हुनाले पनि समाजमा यो पर्व विजया दशमी रहेको भन्ने जनविश्वास रहेको पाइन्छ ।
असत्यमाथि सत्यको विजय, दानवीय स्वभाव माथि मानवीय स्वभावको विजय अन्यायमाथि न्यायको विजय हिंसामाथि अहिंसाको विजय र आसुरी शक्तिमाथि विजय नै विजया दशमी मनाउनुको उदेश्य हो। 
    विजय भन्ने भन्नेबित्तिकै शत्रुमाथि विजय प्राप्त गर्नु भन्ने आसय बुझिन्छ । को हुन् मानिसका शत्रुहारू ? आफैं भित्र छन् शत्रुहरू ।काम, क्रोध , लोभ , मोह, ईष्र्या ,द्वेष यिनै हाम्रा शत्रुहारू हुन् र जबसम्म यस्ता शत्रुहरू भित्र रहन्छन् तबसम्म बाहिर कोहि हाम्रा मित्र  हुन सक्दैन जबसम्म हाम्रा इन्द्रियहरूले हामीलाई जितेका हुन्छन् तबसम्म हामी हारिनै रहन्छौ ।विवेक र ज्ञानको खड्कले यस्ता व्याधिहरूलाई काट्न सक्नु नै वास्तविक विजय हो।

       हिजोआज दसैं भन्नेबित्तिकै मासु र मदिराको पर्व भन्ने बुझ्न थालियो । सबैको कल्याण गर्ने जगतकी माता दुर्गा भवानीले आफ्नै सन्तानको रगत खान्छिन भन्ने कहाँसम्मको विवेक हिन कुरा हो? नवरात्रीको पूजा आराधनाबाट जगतका सबै चेतना भएका प्राणीहरूको कल्याण हुन्छ ।हाम्रा सबै धर्मशास्त्रले " अहिंसा परमो धर्म " भनेका छन् । हत्या गरेर धर्म हुन्छ भन्ने महाअन्धविश्वास,एउटा कुप्रथा हो।

बलिको अर्थ त्याग हो ।बलि दिनु भन्नाले त्यागिदिनु भन्ने बुझिन्छ । 
मनिसले राक्षसी स्वभाव अर्थात् आफ्ना दुर्गुण दुर्भावलाई बलि दिनु पर्थ्यो तर  आजका अधिकांस आफ्नो निहित स्वार्थका लागि वा गलत धारणाले गर्दा आफूभन्दा निर्धो,अशक्त ,मानवीय भाषा बोल्न नसक्ने दाम्लोमा बाँधिएको पशुको हत्यालाई पञ्चबलिका रुपमा मानेर कुप्रथा प्रारम्भ गर्‍यो । 
कामको प्रतीक बोको ,मोहको प्रतीक भेँडो, क्रोधको प्रतीक राँगो,लोभको प्रतीक हाँस वा परेवा र ईष्र्याको प्रतीक कुखुरो मानिन्छ । यी प्राणीहरू प्रतीकका रुपमा देखाइएका थिए तर मानिसले यस्ता निरीह प्राणीलाई बलि दिएर झन् आफूभित्र राक्षसी स्वभावलाई बढवा दिएको देखिन्छ ।मानवभित्र रहेका दुर्गुणहरुलाई नवदुर्गा सामु चाढाऔं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले देवी खुसी  हुन्छन् भन्ने अन्धविश्वास डुबेर प्रतिनिधि पात्रलाई मन्दिरमा बलिको रुपमा चढाउन थाले। दसैं जस्तो पबित्र पर्वलाई हिंसात्मक बनाइयो र एउटा नराम्रो परम्परा प्रारम्भ गरियो ।
       यतिबेला दसैं सुरु भए सङ्गै धन कमाउन प्रदेश दाजुभाइ नेपाल आउने , घर छोडेर अध्यनको लागि टाढा टाढा शहर पसेका लामो घर फर्कने थाल्छन् , कार्यालयका कर्मचारी , उद्योग कलकारखानाका मजदुर पनि बिदामा घर जान्छन् ।सबैजना भेला हुन्छन् । आपसी भाइचारा र प्रेम र सौहार्द  साटासाट गर्छन् । यसर्थ दसैंलाई जुटाउने पर्व भन्न सकिन्छ ।समुहमा बसेर नै उत्सव र खुसी मनाउन सकिन्छ ।दसैं एक सामाजिक पर्व पनि हो ।सबै एकसाथ रमाउन पर्छ,प्रसन्न हुनुपर्छ भन्ने मान्यता राख्ने पर्व हो दसैं । वर्षदिनभरिका तनाव बिर्सेर दुईचार दिन रमाइलो गर्ने पर्व हो।सबैलाई एकतामा जोड्ने  पर्व हो । हाम्रो कमाइको  केहि भाग परिवारका सबै सदस्य र आफन्त जम्मा भएर मिठोमसिनो खादा छुट्टै आनन्द हुन्छ । यसकारण दसैं अत्यन्त मुल्य बोकेको पर्व हो। 
       विजया दसैं एउटा उत्सवको पर्व पनि  हो ।शुभ्भनिशुम्भ र महिषाषुरको एकक्षत्र राज्य शासनले देवता हरू न्यायको उत्सव मनायको दिन हो। तेति बेला देवीले अनेक रुप धारण गरि शुम्भनिशुम्भ र महिषाषुर  राक्षसहरूको वध गरेकी थिइन् । कामवासनाको भरिएको रावण माथि रामले विजय प्राप्त गरि उत्सव मनाएको पर्व हो दसैं । 
      तसर्थ हामीले पनि हामिभित्रका दुर्वृत्तिमाथि विजय प्राप्त गर्नु छ। उत्साह मनाउनु छ। आफुभित्र रहेका काम, क्रोध, लोभ, मोह, मद       र मात्सर्यमाथि विजय प्राप्त गर्नु पर्दछ ।  आफुभित्र सत्य,दया,धर्म,करुणा,प्रेम,सद्भाव,अहिंसा र न्याय जस्ता गुणहरूको बिकास गर्नु छ। दसैं लाई दसा  होइन , दसालाई दसैंमा बदल्नु छ। यो महान आनन्दमय चाडमा आफुभित्रको दुर्वृत्ति , दुर्गुण र विकारलाई बलि दिएर विजय र उत्सवका रूपमा मानाऔं ।
>लेखक नेपाल ज्योतिष परिषद् रूपन्देही अध्यक्ष हुन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...