अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

स्याङ्जामा कार्तिक १५ बाट प्याराग्लाईडिङ विश्वकप हुने

news

रेडियो आँधीखोला,
वालिङ ९ कार्तिक ।
स्याङ्जामा नेपालमै पहिलो पटक प्याराग्लाईडिङ विश्वकप हुने भएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको मुख्य समन्वयमा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप हुने भएको हो ।
कार्तिक १५ देखि १८ गतेसम्म हुने एक्युरेसी प्याराग्लाईडिङमा स्याङ्जाको भीरकोट नपा ५ स्वरेक मैदानबाट उडेर वालिङ नपा ११ को डौंवा फाँटमा अवतरण गर्ने गरी तयारी भैरहेको छ । तोकिएको ठाउँबाट उडेर तोकिएको निश्चित घेराभित्र अवतरण गर्ने कार्यलाई एक्युरेसी भन्ने गरिन्छ । स्वर्ण, रजत र काँस्य गरी ३० पदक र ४ वटा वल्डकप ट्रफीका लागि महिला एवम् पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
“हालसम्म प्रतियोगिताका लागि १८ देशबाट आएका ८५ खेलाडीहरुले नाम दर्ता गराएका छन्” बाबु एड्भेन्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले भन्नुभयो, “दर्ताको समय अझै रहेकाले अन्तिम मितिसम्ममा २० देखि २५ देशका झण्डै डेढसय खेलाडीहरुले प्रतियोगिताका लागि नाम दर्ता गर्ने अनुमान हामीले गरेका छौं ।
प्रतियोगितामा सहभागी हुनका लागि आवेदन दिएका सबैले प्रतिस्पर्धा गर्न पाउने छैनन् प्रतिस्पर्धीलाई छनौट गरेर मात्रै प्रतियोगितामा सहभागी गराईने अध्यक्ष केसीले बताउनुभयो ।
“प्याराग्लाईडिङको विश्वकप पहिलो पटक स्याङ्जामा गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो” जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख एवम् प्रतियोगिता मुख्य समन्वय समिति संयोजक सीता सुन्दासले भन्नुभयो, “प्रतियोगितालाई सफल बनाउनका लागि हामीले जिल्लाका एघार वटै स्थानीय तहहरुसँग समन्वय गरी तयारीलाई तीब्रता दिएका छौं भने विभिन्न उपसमितिहरु बनाएर कार्य विभाजन गरेका छौं ।”
जिल्ला समन्वयले प्रतियोगिताका क्रममा आवश्यक पर्ने अन्य ब्यवस्थापकीय भूमिकाका पक्षमा कार्य गर्ने र प्राविधिक कार्यहरु आयोजक संस्थाहरुले गर्ने गरी तयारी भैरहेको जिल्ला समन्वय प्रमुख सुन्दासले बताउनुभयो ।
“प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै डेढ करोड खर्च लाग्ने अनुमान गरेका छौं” प्रतियोगिता मुख्य समन्वय एवम् जिल्ला समन्वय प्रमुख सुन्दासले भन्नुभयो, “प्रतियोगिता हुने स्थान भीरकोट नपा र वालिङ नपामा पर्ने भएकाले भौतिक निर्माणका कार्यमा यी दुई नगरपालिकाको भूमिका अन्यको भन्दा बढी हुने र अन्य पालिका, राखेप, पर्यटन बोर्ड, वित्तीय संघ संस्थाहरुलाई आर्थिक सहयोगका लागि आब्हान गरिएको छ ।”
प्याराग्लाईडिङ प्रतियोगिता हुने स्थल सिद्धार्थ राजमार्गबाट नजिकको दूरीमा रहेकाले पनि यहाँ यस खालको प्रतियोगिता आयोजना गर्न सहज भएको बाबु एड्भेन्चर प्याराग्लाईडिङ स्कुलका सञ्चालक सानोबाबु सुनुवारले बताउनुभयो ।
“प्रतियोगिता हुने क्षेत्रमा हवाई मार्ग नपर्नु अर्को राम्रो पक्ष हो” बाबु एड्भेन्चर प्याराग्लाईडिङ स्कुलका सञ्चालक सुनुवारले भन्नुभयो, “यहाँको मौसम एघार महिना राम्रोसँग उड्न सकिने खालको हावाको बहाव रहेको र यहाँबाट हिमाल राम्रोसँग देखिने भएकाले पनि यो स्थान प्याराग्लाईडिङका लागि उत्कृष्ट गन्तब्यमा पर्ने मैंले ठानेको छु ।”
प्रतियोगिता आयोजना हुन लागेको स्थानमा नेपालकै पहिलो प्याराग्लाईडिङ स्कूल बाबु एड्भेन्चर प्याराग्लाईडिङ स्कुलले विभिन्न देशबाट प्रशिक्षण लिन आएका खेलाडीहरुलाई सैद्धान्तिक र ब्यवहारिक प्रशिक्षण दिंदै आएको छ ।
यसअघि पनि यसै स्थानमा एक्युरेसी र क्रसकन्ट्रीका अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भैसकेको छ ।
प्रतियोगितामा नेपालसहित फ्रान्स, जापान, कोरिया, ब्रिटेन, क्यानडा, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, टर्की,  मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इरानलगायत झण्डै २५ देशका खेलाडीहरुबीच सामूहिक र ब्यक्तिगत प्रतिस्पर्धा बाबु एड्भेन्चर क्लबका अध्यक्ष केसीले बताउनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...