अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

वल्ड कपको तयारी अन्तिम चरणमा

news

कला राना
वालिङ, १३ कार्तिक । 
नेपालको प्याराग्लाईडिङ इतिहासमा प्रथम पटक आयोजना गरिएको प्याराग्लाईडिङ एक्यूरेसि विश्व कप २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति स्याङ्जाको मुख्य समन्वयमा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक स्याङ्जामा हुने एक्यूरेसि प्याराग्लाइडिङ विश्वकपको तयारी अन्तिम चरणमा पुगेको मंगलबार भीरकोट नगरपालिकामा पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, नेपाल हवाइ खेलकुद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ, PGAWC तथाF.A.I  को प्रत्यक्ष संकग्नतामा प्रतियोगिता सञ्चालन हुनेछ । 
कार्तिक १५ देखि १८ गतेसम्म हुने एक्युरेसी प्याराग्लाईडिङमा स्याङ्जाको भीरकोट नपा ५ स्वरेकको महापुर मैदानबाट उडेर वालिङ नपा ११ को डौंवा छतिवनमा अवतरण हुनेछ । स्वर्ण, रजत र काँस्य गरी ३० पदक र ४ वटा वल्डकप ट्रफीका लागि महिला एवम् पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल भ्रमण वर्ष सन २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा बृद्धि गर्ने, हवाई खेलहरुमा भएका संभावनाहरुलाई प्रचारप्रसार गर्ने, नेपाली हवाई खेलाडिहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, यसलाई व्यवसायिक पर्यटनका रुपमा विकास गर्ने, नेपालको हवाई खेलकुद उडान क्षेत्र स्याङजाको आँधीखोला भ्यालीलगायत संभावित क्षेत्रलाई एभियशन स्पोर्टस जोनको रुपमा विकास गर्नेलगायतका उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । हालसम्म २० देशका ९४ अन्तराष्ट्रिय खेलाडिहरुको सुनिश्चित भएको कार्यक्रममा जानकारी दिईएको छ । 
अन्तराष्ट्रिय निर्णायकको सहभागिता जिम्मेवारी सुनिश्चित भएको, खेलाडिहरुलाई आवास खानाको प्रबन्ध, टेकअफ र ल्याडिङ जोनसम्मको सडकको तयारी, अन्ताराष्ट्रिय मापदण्ड अनुसार हुनुपर्ने प्रविधिको व्यवस्था, सुरक्षालगायतको व्यवस्था मिलाईएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसंग समन्वय गर्दै सुरक्षा व्यवस्था मजबुद बनाईएको भन्दै स्याङजलाई खुल्ला रंगाशालाको रुपमा विकास गर्न प्रतियोगिताले टेवा पुग्ने जिल्ला समन्वय समिति  सिता प्रमुख सुन्दासले बताउनुभयो । 
१ करोड ५७ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताबाट १ करोड ७७ लाख आम्दानी हुने अनुमान गरिएको भीरकोट नगरप्रमुख छायाराम खनालले बताउनुभयो । प्रतियोगितामा २ लाख दर्शकहरुले अवलोकन गर्ने अपेक्षा लिएका छौँ, नगरप्रमुख खनालले भन्नुभयो, “साहसिक खेलको वल्र्ड कप स्तरीय प्रतियोगिताका लागी सक्षम देशको रुपमा नेपाल चिनिनेछ भने सन २०२० को नेपाल भ्रमण वर्षको विश्वस्तरमा प्रचार हुनेछ ।”   प्रतियोगितालाई व्यवस्थित बनाउन व्यवस्थापकीय पक्ष दतारुकताका साथ लागिपरेको बताउनुभयो । 
त्यस्तै वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांणले प्रतियोगिताले जिल्लालाई विकासित बनाउने भन्दै प्रत्यक्ष जोडिएको सिद्धार्थ राजमार्ग फराकिलो र घुम्ती कटाएर छोट्याउन जायिका संस्थाले सहयोग गर्ने भन्दै यसमा जिल्लाका सबै पालिका प्रतिवद्धताका साथ लागिपर्नुपर्ने बताउनुभयो । 
प्रतियोगितामा सहभागी हुनका लागि आवेदन दिएका सबैले प्रतिस्पर्धा गर्न पाउने छैनन् प्रतिस्पर्धीलाई छनौट गरेर मात्रै प्रतियोगितामा सहभागी गराईने बाबु एड्भेन्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले बताउनुभयो । प्रतियोगितामा ६ विदेशी र १४ स्वदेशी निर्णायक रहने भन्दै करिव २५ देशका हवाई खेलाडिले प्रतिष्पर्धा गर्ने केसीले बताउनुभयो ।
प्याराग्लाईडिङ प्रतियोगिता हुने स्थल सिद्धार्थ राजमार्गबाट नजिकको दूरीमा रहेकाले पनि यहाँ यस खालको प्रतियोगिता आयोजना गर्न सहज भएको बाबु एड्भेन्चर प्याराग्लाईडिङ स्कुलका सञ्चालक सानोबाबु सुनुवारले बताउनुभयो । यस प्रतियोगिताले ग्रामिण पर्यटन प्रर्वद्धन गर्ने सुनुवारको भनाई छ । 
प्रतियोगिता आयोजना हुन लागेको स्थानमा नेपालकै पहिलो प्याराग्लाईडिङ स्कूल बाबु एड्भेन्चर प्याराग्लाईडिङ स्कुलले विभिन्न देशबाट प्रशिक्षण लिन आएका खेलाडीहरुलाई सैद्धान्तिक र ब्यवहारिक प्रशिक्षण दिंदै आएको छ । यसअघि पनि यसै स्थानमा एक्युरेसी र क्रसकन्ट्रीका अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भैसकेको छ । प्रतियोगितामा नेपालसहित फ्रान्स, जापान, कोरिया, ब्रिटेन, क्यानडा, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, टर्की,  मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इरानलगायतका खेलाडिहरु सहभागि हुनेछन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...