समाचार
मङ्सिर २८ देखि प्रथम चापाकोट महोत्सव हुने
स्याङ्जाको दक्षिणी भेगमा रहेको चापाकोटमा यही मङ्सिर २८ गतेदेखि प्रथम चापाकोट महोत्सव हुने भएको छ । चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी तीब्ररुपमा अगाडि बढाइएको महोत्सव मुल आयोजक समितिका संयोजक एवम् चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष मणिप्रसाद खनालले बताउनुभयो ।
“स्याङ्जाको दक्षिणी भेगमा कालीगण्डकीको किनारमा रहेको समथर भूभाग चापाकोट धार्मिक, ऐतिहासिक, पर्यटकीय एवम् कृषि उत्पादनका दृष्टिले पनि जिल्लाकै महत्वपूर्ण क्षेत्र हो” मेला मुल आयोजक समितिका अध्यक्ष खनालले भन्नुभयो, “यस क्षेत्रमा रहेका संभावनाहरुको खोजी गर्ने र यसको विकासका लागि सहयोग पु¥याउनुका साथै चापाकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागेका हौं ।”
महोत्सवमा स्थानीय उत्पादनसँग जोडिएका कृषि, पशु, हस्तकला, कुमाल समुदायको लोपोन्मुख अवस्थामा रहेका माटाका भाँडा तथा स्थानीय कला, संस्कृतिहरुको प्रचार प्रसार, स्थानीय खानाका परिकारहरुलाई प्राथमिकताका साथ महोत्सव अवधिमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
कूल २२० वटा विभिन्न प्रकृतिका स्टलहरु मेलामा रहने छन् । मङ्सिर २८ देखि पौष ८ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीका लागि विभिन्न ४० वटा उपसमिति निर्माण गरी कार्यलाई तीब्रता दिईएको छ ।
महोत्सव अवधिभर कूल ८० लाख आर्थिक संकलन गर्ने, ६० लाख खर्च हुने र २० लाख बचत हुने प्रारम्भिक अनुमान रहेको मेला आयोजक समितिका संयोजक खनालले बताउनुभयो । बचत रकमबाट चापाकोट उद्योग वाणिज्य संघको कार्यालय भवनको शुरुवात गर्ने र ब्यापारीहरुको हितमा प्रयोग गर्नका लागि कोष स्थापना गर्ने निर्णय भएको चापाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।