अहिले तरंगमा

Songs

केहि छिनमा

Nepal Khabar

समाचार

२७ आंै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस वालिङमा मनाईयो

 
रेडियो आँधीखोला,
१७ मंसिर ।
वालिङ नगरपालिका समुदायमा आधारित पुनस्थापन केन्द्र (सिविआरएस) को आयोजनामा वालिङ नगरपालिकामा २७ औं विश्व अपाङ्गता दिवस मनाइएको छ । ‘अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चित’ भन्ने नाराकासाथ मनाईएको विश्व अपाङ्गता दिवसका अवसरमा ह्विल चियर, शैक्षिक सामग्री तथा उत्पादनमूलक कार्यक्रम सञ्चालनका लागि नगद सहयोग गरिएको छ । 
विश्व अपाङ्गता दिवसमा आयोजित कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले परिस्थितिबस शारीरिकरुपले कमजोर देखिए पनि अपाङ्गता भएकाहरुमा मानसिक क्षमता दरिलो हुने बताउँदै उत्साहका साथ काम गरेर उदाहरणीय बन्न आग्रह समेत गर्नुभयो ।  उहाँले आत्मबल कमजोर नबनाउन आग्रह गर्दै नगरपालिका सदैव उत्प्रेरककोरुपमा सहयोगी भूमिकामा रहने विश्वास दिलाउनुभयो । 
“अपाङ्गता भएकाहरुलाई माया ममता भन्दा पनि उहाँहरुलाई आफ्नो अधिकार प्राप्तिका लागि सचेत बनाउनुपर्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “तपाईहरुको अधिकारको प्राप्तिका लागि हामी सदैब तत्पर छौं, तपाईहरुकै साथमा रहने छौं ।” 
नगरपालिकाले भवनहरु निर्माण गर्दा अपाङ्गमैत्री भवन निर्माणमा जोड दिने नगर प्रमुख खाँणको भनाई थियो । नगर प्रमुख खाँणले ह्विल चियरको अभाव भई विस्तारामै रहनुभएका अपाङ्गता भएकाहरुलाई ह्विल चियर सहयोग गर्ने तयारीमा नगरपालिका रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि उनीहरूलाई आर्थिक तथा सामाजिकरूपमा सशक्त बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले अपाङ्ग परिचय पत्र वितरण कार्यविधि पास गरी अब छिट्टै वितरण गर्ने र अपाङ्गता भएकाहरुलाई ह्विल चियर वितरण गर्ने बताउनुभयो । 
कार्यक्रममा सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डे, सिबिआरएस वालिङ शाखाका कल्पना पाण्डेले कार्यक्रमकाबारेमा जानकारी गराउनुभएको थियो । वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका अनुषा काफ्लेले गर्नुभएको थियो । 
त्यस्तै उता भीरकोट नगरपालिकाको आयोजनामा हिजो अपाङ्गता भएकाहरुको गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा भीरकोट नगर प्रमुख छायाराम खनालले अपाङ्गता भएकाहरुलाई सहयोग गर्ने र भवनहरु निर्माण गर्दा अपाङ्ग मैत्री बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नगर उपप्रमुख सीमा केसी कर्माचार्यले कार्यक्रममाथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा वडा नं. ५ का अध्यक्ष यामप्रसाद अधिकारी, २ का अध्यक्ष कमलविकास त्रिपाठी, ७ का अध्यक्ष शेषकान्त अर्याल, भीरकोट जेसिजका अध्यक्ष उमेश गुरुङ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाले अपाङ्गता भएकालाई आर्थिक, सहयोगसहित सेतो छडि एउटा र ४ वटा ह्विल चियर, ४ वटा बैशाखी प्रदान गरेको थियोभने भीरकोट जेसिजले २४ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको थियो । श्यामप्रसाद अर्यालको स्वागतसँगै शुरु भएको उक्त कार्यक्रम सूचना अधिकृत धनप्रसाद कोईरालाले सञ्चालन र अपाङ्ग समिति भीरकोटका अध्यक्ष विष्णु खनालको सभापतित्वमा सम्पन्न भएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...