अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

स्याङजाको दक्षिणी भेगमा प्रथम चापाकोट महोत्सव शुरु

news

 
रेडियो आँधीखोला,
२९ मंसिर ।
स्याङ्जाको दक्षिणी भेगमा रहेको चापाकोटमा शुक्रबारदेखि प्रथम चापाकोट महोत्सव शुरु भएको छ । चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले महोत्सवले गण्डकी वेशीको पहिचानलाई नेपालमै परिचित गराउन सफल भएको बताउनुभएको छ ।
 
उहाँले चापाकोट तथा गण्डकी वेशी धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्वले प्रचुर संभावना बोकेको क्षेत्र भएको बताउँदै यहाँका संभावनाहरुलाई प्रचार प्रसार गरी आर्थिक समृद्धितर्फ जोड्नुपर्ने बताउनुभयो । “स्थापनाको छोटो समयमै चापाकोट उद्योग वाणिज्य संघले ऐतिहासिक महोत्सव आयोजना गरी यहाँको गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएको छ” नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मुल्मीले भन्नुभयो, “महोत्सवलाई सफल बनाउनकालागि सबै एकजुट हुनुको विकल्प छैन ।”
 
कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले प्रथम चापाकोट महोत्सवमा नेकपाले उपस्थित नजनाउने निर्णय गरेर गल्ति गरेको बताउँदै आगामी दिनमा सच्चिएर अगाडि बढ्न आग्रह गर्नुभयो । सामाजिक कार्यमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्न सकेमात्रै समग्र चापाकोटको हित हुने बताउनुभयो ।
 
उद्घाटन समारोहमा नेपाली काँग्रेस स्याङ्जाका सचिव बुद्धिबहादुर राना (कुमार), रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, भीरकोट नगरउपप्रमुख सिमा केसी कर्माचार्य, रामपुर नगरउपप्रमुख विष्णुदवि घिमिरे आर्चायलगायतले महोत्सवको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष मणि खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शिव श्रेष्ठ र भुवन भण्डारीले गर्नुभएको थियो ।
 
महोत्सवमा स्थानीय उत्पादनसँग जोडिएका कृषि, पशु, हस्तकला, कुमाल समुदायको लोपोन्मुख अवस्थामा रहेका माटाका भाँडा तथा स्थानीय कला, संस्कृतिहरुको प्रचार प्रसार, स्थानीय खानाका परिकारहरुलाई प्राथमिकताका साथ महोत्सव अवधिमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
 
कूल २२० वटा विभिन्न प्रकृतिका स्टलहरु मेलामा रहने छन् । मङ्सिर २८ देखि पौष ८ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिभर कूल ८० लाख आर्थिक संकलन गर्ने, ६० लाख खर्च हुने र २० लाख बचत हुने प्रारम्भिक अनुमान रहेको मेला आयोजक समितिका संयोजक खनालले बताउनुभयो ।
 
बचत रकमबाट चापाकोट उद्योग वाणिज्य संघको कार्यालय भवनको शुरुवात गर्ने र ब्यापारीहरुको हितमा प्रयोग गर्नका लागि कोष स्थापना गर्ने निर्णय भएको चापाकोट उद्योग वाणिज्य संघले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...