समाचार
स्याङ्जाको पुतलीबजारमा यसरी सुरु भयो नेपाल सम्वत् ११४७
रेडियो आँधीखोला,
कार्तिक २५ वालिङ ।
नेपाल सम्वत् ११४७ शुभारम्भको अवसरमा नेवाःदेय दबु स्याङ्जाको आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कर्यक्रममा पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रवर्तन गर्नुभएको नेपाल संवत् नेपालको मौलिक संवत् मात्र नभई हाम्रो सभ्यता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको गौरवपूर्ण सम्पदा भएको बताउनुभयो । शङ्खधर साख्वाले किसान तथा गरीब जनतालाई ऋणमुक्त गराएको स्मृतिमा सुरुवात गर्नुभएको नेपाल संवत् नेपाली सभ्यता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक भएको बताउदै नगर प्रमुख रेग्मीले यस संवतले सामाजिक न्याय, सहिष्णुता, सेवा र परोपकारको उच्च आदर्श देखाउने धारणा राख्नुभयो।
कार्यक्रममा रास्वपा नगर सभापति वेद प्रसाद दोरंगा, युवा व्यवसायी नवराज सुवेदी, पत्रकार महासंघका पुर्व अध्यक्ष ओम प्रकाश शर्मा,युवा नेता ईन्जिनियर अनुप श्रेष्ठ, ब्राह्मण समाज स्याङ्जा अध्यक्ष मुक्तिप्रसाद रेग्मी, उद्यमी अनन्त कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। नेवाः देय दबु स्याङ्जाका अध्यक्ष हिक्मत श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव विष्णु कुमार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमका अवसरमा नगर प्रमुख रेग्मीसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने विशेष व्यक्तित्वहरुलाई सम्मान तथा समारोह पुर्व नेवारी भेषभुषा तथा पहिरनसहित स्याङ्जा सदरमुकाममा सांस्कृतिक र्याली समेत गरिएको थियो।