समाचार
भेषजराज साहित्य प्रतिष्ठानको १०२ औँ शृङ्खला सम्पन्न
रेडियो आँधीखोला,
कार्तिक २५ वालिङ ।
साहित्यकार लीलाम्बर ढुङ्गानाको पछिल्लो कृति स्मृतिका पाना र साहित्यका आयामको विमोचन गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानको १०२ औँ शृङ्खला रचना वाचनका अवसरमा उक्त कृतिको विमोचन गरिएको हो । प्रतिष्ठानले भेषजराज जयन्ती एवम् आफ्नो मासिक नियमित रचना वाचन समेत सम्पन्न गरेको छ ।
कार्यक्रमका आनन्दमणि टुल्कीनन्दकला स्मृति प्रतिष्ठानका संरक्षक साहित्यकार त्रिलोचन ढकालले कार्यक्रमको समग्र समीक्षा गर्दै वालिङमा साहित्यिक कार्यक्रमहरूमा उत्साहजनक उपस्थिति हुनुमा साहित्यकार भेषजराज शर्मा र देवीप्रसाद वनवासीको योगदान प्रेरणा रहेको उल्लेख गर्नुभयो ।
उहाँले लक्ष्मीप्रसाद देवकोटा र भेषजराज शर्माको साहित्यिक योगदानको चर्चा गर्दै लीलाम्बर ढुङ्गानाको विमोचित कृति पनि पठनीय रहेको कुरा समेत जानकारी गराउनुभयो । कार्यक्रमका पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, पुष्पलाल अध्ययन केन्द्र स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ द्वय नारायण मरासिनी डा. तुलसीप्रसाद खनाल प्रभास, नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर लगायतले देवकोटाको साहित्यिक, राजनैतिक एवम् सामाजिक योगदानका बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा विमोचित कृतिको समीक्षा गर्दै समीक्षक द्वय प्रा. डा. यमबहादुर पौडेल क्षत्री र डोलराज विकल्प डुम्रेले कृतिकार लीलाम्बर ढुङ्गानाको जीवनी, जागिरे जीवन र उहाँको साहित्यिक योगदानको मूल्याङ्कन गर्दै उनको प्रस्तुत कृतिले उनलाई कुशल समीक्षकका रूपमा पनि स्थापित गराउन सफल हुने कुरा व्यक्त गर्नुभयो । प्रा. डा. यमबहादुर पौडेल क्षत्रीले ढुङ्गानाको यस कृतिले उहांमा निबन्धकार व्यक्तित्व पनि रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा अनन्त अर्याल, ढालबहादुर केसी, गोपाल जिटी लगायतले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा कृतिकार लीलाम्बर ढुङ्गानाले आफ्नो कविता वाचन गर्दै आयोजक भेषजराज साहित्य प्रतिष्ठान तथा साहित्यकारहरूलाई आभार प्रकट गर्नुभएको थियो । नियमिति रचनावाचन अन्तर्गत कवि तथा कवयित्रीहरू जयलाल सुवेदी, सीताराम अधिकारी, नारायणप्रसाद रेग्मी, शम्भु अर्याल, इन्द्रपाठक, दमकुमारी बगाले, पारिश्वर न्यौपाने, निलकण्ठ लम्साल, मिलन समीर, चक्रबहादुर पराजुली, ढालबहादुर केसी, कल्पना ढुङ्गाना, चिन्तु गिरीलगायतले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभयो ।
भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले गर्नुभएको थियो भने धन्यवाद सदस्य दीपक लम्सालले र सहजीकरण सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।