समाचार
डिल्लीबजार कारागारमा रहेका टोपबहादुर रायमाझी रिहा
आज बिहान पौने ७ बजे उहाँ काठमाण्डौको डिल्लीबजार कारागारबाट रिहा हुनुभएको हो । ज्येष्ठ नागरिकको सुविधा पाएर ६५ वर्ष उमेर पूरा भएसँगै रायमाझी रिहा भएको कारागारले जनाएको छ । उहाँलाई कैदमुक्त गर्न काठमाण्डौ जिल्ला अदालतले यसअघि कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।
रायमाझीको निवेदनका आधारमा अदालतले उहाँलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै संशोधित कैदीपुर्जी अदालतमा पठाएको थियो । तिहारअघि नै प्राप्त संशोधित कैदी पुर्जीका आधारमा रायमाझीलाई थुनामुक्त गरिएको कारागार कार्यालय डिल्लीबजारले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० साल वैशाख २० मा पक्राउ पर्नुभएको थियो । काठमाण्डौ जिल्ला अदालतले उहाँलाई २०८३ असार ३० मा चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो । ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था अनुसार रायमाझीले सुविधा प्राप्त गर्नुभएको हो ।