समाचार
रामनदीधाममा १५ दिवसीय दामोदर धर्मोत्सव सुरु
वालिङ, ३० कार्तिक ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामनदीधाममा १५ दिवसीय धार्मिक महामेला ‘दामोदर धर्मोत्सव–२०८३’ सुरु भएको छ । रामनदीधामको वृहत्तर विकास, संरक्षण तथा यहाँ सञ्चालित संस्कृत गुरुकुलको स्थायित्व र सुदृढीकरण गर्ने उद्देश्यले शनिबारदेखि सुरु भएको धर्मोत्सव आगामी मङ्सिर १३ गतेसम्म सञ्चालन हुनेछ ।
धर्मोत्सवका अवसरमा लोकानन्द सरस्वतीजी महाराजले धर्म, संस्कृति र परम्पराको संरक्षणसँगै मानव कल्याणका लागि यस्ता धार्मिक अनुष्ठान महत्वपूर्ण हुने बताउनुभयो । उहांले सन्तगुरुहरू मानव जागरण र कल्याणका लागि समर्पित हुने उल्लेख गर्दै धार्मिक कार्यमा प्रत्यक्ष सहभागी हुनु आफैँमा पुण्यको काम भएको औंल्याउनुभयो ।
लोकानन्दले रामनदीधाममा सञ्चालित गुरुकुलमा करिब १५० विद्यार्थीलाई संस्कृत शिक्षामा आबद्ध गराउने प्रयास गरिएको भए पनि उनीहरूलाई आवश्यक शिक्षा, दीक्षा र भिक्षाको उचित व्यवस्थापन गर्न चुनौती रहेको उल्लेख गर्नुभयो । गुरुकुलको उन्नयन, धर्म–संस्कृतिको रक्षा तथा प्रकृति र परम्पराको संरक्षणका लागि धर्मोत्सव आयोजना गरिएको उल्लेख गर्दै लोकानन्दले यस अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
अनुष्ठानका व्यास भागवतालङ्कार पण्डित नेत्रप्रसाद पराजुलीका अनुसार धर्मोत्सव अवधिभर विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछन् । यस अवधिमा भगवान् श्रीरामको चरणपादुकाको विशेष पूजा, विराट शालग्रामको दर्शन तथा पूजन, पितृ उद्धारको कामनासहित सवा लाख बत्तीमार्फत करिब पाँच करोड दीप प्रज्ज्वलन र श्रीमद्भागवत महापुराणको कथावाचनलगायत कार्यक्रम हुनेछन् ।
धर्मोत्सवमा देवघाटस्थित गणेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम र महेश्वर सन्यास आश्रमका तीनै पीठका पीठाधीशसहित देश तथा विदेशका प्रतिष्ठित धर्मगुरु, विद्वान् र साधुसन्तहरूको विशेष सहभागिता रहने आयोजकले जनाएको छ । उनीहरूको उपस्थितिमा श्रीराम भगवानको चरणपादुका पूजनसहित विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरिने कार्यक्रम छ ।
धर्मोत्सवको मुख्य अभिभावकत्व गल्याङ नगरपालिकाले गरेकोे छ । साथै स्याङ्जा, पाल्पालगायत आसपासका स्थानीय तहबाट समेत आवश्यक सहयोग प्राप्त हुने अपेक्षा आयोजकले गरेको छ ।
लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेश प्रवेश गर्ने प्रमुख धार्मिक स्थलका रूपमा परिचित रामनदीधाम सिद्धबाबा मन्दिरसँग जोडिएको सिद्धभूमि हो । धार्मिक मान्यताअनुसार भगवान् श्रीरामचन्द्रले १६ वर्षको उमेरमा यस स्थानमा आफ्नो चरणचिह्न छाड्नुभएको विश्वास गरिन्छ । यही धार्मिक विश्वासका कारण रामनदीधाम श्रद्धालुहरूको विशेष आस्थाको केन्द्रका रूपमा परिचित छ ।