समाचार
वालिङका होटलहरुको अनुगमन, सरसफाईमा कमी, रंग प्रयोग गर्न प्रतिबन्ध
रेडियो आँधीखोला,
वालिङ २१ अशोज ।
स्याङ्जाको वालिङ बजारमा होटल तथा रेष्टुरेण्ट र खाद्य किराना पसलको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र एकीकृत सेवा कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, सुरक्षा निकाय, कोष तथा लेखा नियन्त्रण कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको सहभागिता रहेको थियो ।
वालिङको मिर्दि, र वालिङ मोडमा रहेका होटल रेष्टुरेन्ट तथा किराना पसलहरुमा अनुगमन गरिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष राजेन्द्र मरासिनीले बताउनुभयो । होटलहरुमा सरसफाईको कमी तथा पर्कौडा, रोष्टहरुमा रंगको प्रयोग गरेको भेटिएकाले रंगको प्रयोग नगर्न सचेत गराईएको छ । अप्राकृतिक रंगको प्रयोगले स्वास्थ्यमा गम्भीर समस्या पर्ने भएकाले यस्ता रंगको प्रयोग नर्गन होटल व्यवसायीलाई सचेत गराईएको अध्यक्ष मरासिनिले बताउनुभयो ।
अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, वस्तुको मूल्यसूची, नापतौल तथा प्रमाणपत्र, खाद्य वस्तुको लेबल, म्याद, बिक्री तथा खरिद बिललगायतका विषयमा निरीक्षण गरिएको थियो। ऋनुगमनमा भेटिएका म्याद गुज्रेका २६ हजार २८१ रुपैँयाको सामानहरु नष्ट गरिएको छ । यहाँका ३७ होटल तथा पसलहरुको अनुमन गरिएको हो । उपभोक्ताले खाद्य वस्तु खरिद गर्दा म्याद, लेबल, मूल्यसूची र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।
अनुगमन टोलीले होटल, रेष्टुरेण्ट तथा खाद्य किराना व्यवसायीलाई खाद्य वस्तुको गुणस्तर कायम राख्न, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न तथा उपभोक्ताको स्वास्थ्य र अधिकारप्रति जिम्मेवार बन्न सचेत गराएको थियो। व्यवसायीले खरिद तथा बिक्रीका बिल सुरक्षित राख्नुका साथै मूल्यसूची स्पष्ट रूपमा राख्नुपर्ने विषयमा समेत जानकारी दिइएको थियो।