अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा एक महिनामा १७ वटा अपराधका मुद्दा दर्ता, शान्ति सुरक्षा सुदृढ पार्न प्रहरी आक्रामक रूपमा सक्रिय

 
रेडियो आँधीखोला
वालिङ, १ मंसिर । 
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले चालु वर्षको कात्तिक मसान्तसम्मको अवधिमा सम्पादित अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा जनतालाई सेवा प्रवाहसम्बन्धी गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालय तथा मातहतका इकाईहरूमार्फत यस अवधिमा विभिन्न आपराधिक घटनाहरूको अनुसन्धान, फैसला कार्यान्वयन, बजार अनुगमन र जनचेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गरिएको छ।
प्रहरीको तथ्याङ्क अनुसार कात्तिक महिनामा विभिन्न शीर्षकका १७ वटा मुद्दाहरू दर्ता भएका छन्, जसमा अभद्र व्यवहार, सवारी ज्यान, लागु औषध र किर्तेसम्बन्धी कसुरहरू रहेका छन्। यसैगरी, विभिन्न मुद्दामा फरार भई अदालतबाट सजाय तोकिएका ८ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ, जसबाट कुल २३ महिना २९ दिन कैद र १२ हजार ६ सय ८५ रुपैयाँ ५० पैसा जरिवाना असुलउपरको कारवाही अघि बढाइएको छ।
यस अवधिमा लागु औषध नियन्त्रणतर्फ प्रहरीले विशेष सफलता हासिल गरेको छ। विभिन्न स्थानमा गरिएको सवारी साधन चेकजाँच तथा खोजी अभियानका क्रममा ठूलो मात्रामा डाइजेपाम, बुप्रेनरिफिन र फेनारगनजस्ता लागुऔषध एम्पुलहरू तथा गाँजासहित संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ । 
त्यस्तै चाडपर्वलाई लक्षित गर्दै प्रहरीले राजस्व छली गरी ल्याइएका लाखौँ मूल्यका लत्ताकपडा, खाद्यान्न तथा पटकाजन्य विस्फोटक पदार्थहरू बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय र अन्य सम्बन्धित निकायहरूसँगको संयुक्त बजार अनुगमनमा म्याद गुज्रिएका खाद्यवस्तु र मापदण्डविपरीतको मासुसमेत जफत गरी नष्ट गरिएको छ । प्राकृतिक स्रोतको अवैध उत्खननमा संलग्न ट्र्याक्टरहरूलाई कारवाहीको दायरामा ल्याइएको छ भने ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरूलाई समेत ट्राफिक तथा यातायात कार्यालयमार्फत जरिवाना गरिएको छ।
जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन पिकेट, चेकजाँच, तथा छोटो–लामो दुरीका गस्तीसहित कुल २ हजार २९३ वटा सुरक्षा परिचालन गरिएका छन्। यस महिना सवारी दुर्घटनातर्फ अनियन्त्रित गति र ट्राफिक नियम उल्लङ्घनका कारण भएका दुर्घटनाहरूमा केही मानवीय क्षति पुगेको छ । ट्राफिक चेकिङका क्रममा ७१६ वटा सवारी साधनलाई कारवाही गरी ६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको छ भने मादक पदार्थ सेवन (मा.प.से.) गर्ने चालकहरूलाई समेत कारवाहीको दायरामा ल्याइएको छ।
समाजमा हुन सक्ने अपराध रोकथाम, लागुऔषध दुव्र्यसन, साइवर अपराध, आत्महत्या न्यूनीकरण तथा ट्राफिक सचेतनाका लागि विद्यालय र समुदायस्तरमा ७१ वटा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिएका छन् । जसबाट २ हजार १९४ जना नागरिक लाभान्वित भएका छन्। यसबाहेक, हराएका मानिसहरूको खोजतलास, हराएका सवारी साधन तथा मोबाइलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...