अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पैसाले तनाव, तनावले रोग

 
डा.नीलम ढुङ्गाना तिम्सिना
 
सन् २०१९ को डिसेम्बरबाट प्रारम्भ भएको मानिएको नोबल कोरोना भाइरसबाट अहिले विश्व मानवसमुदाय आक्रान्त छ । लाखौँको मृत्यु भएको छ भने करोडौँको सङ्ख्यामा मानिसहरू आइसोलेशन, क्वारेन्टाइन, अस्पतालमा उपचाररत छन् ।
घाँटी दुख्ने, रुघाखोकी लाग्ने, ज्वरो १०१.४ डिग्रीभन्दा बढी आउने, श्वासप्रश्वासमा कठिनाइ हुने, निमोनिया हुने र अन्त्यमा दीर्घरोगीको मृत्यु नै हुने यो रोगको लक्षण हो भनेर स्वास्थ्यविद्हरूले भनेको पाइन्छ । कसरी यो रोगबाट बच्ने त ? छिटैछिटै साबुनपानीले हात धोइरहने, रुघाखोकी लागेका मानिसहरूको सीधा सम्पर्कमा नआउने, मास्क लगाएर हिँड्ने, भरसक घरबाट बाहिर नहिंड्ने, पशुपछीको सीधा सम्पर्कमा नआउने, पोषिलो र घरायसी खानेकुरा खाने र रोग लागिहालेको खण्डमा शीघ्र स्वास्थ्य संस्थामा गई उपचार गर्ने आदि उपायहरू अहिलेसम्म सिफारिस गरिएका उपायहरू हुन् ।
यी त भए कोरोना भाइरसबाट बच्न सिफारिस गरिएका भौतिक उपायहरू । यी उपायहरू पक्कै प्रभावकारी उपाय अवश्य हुन् । तर मानिसहरूको भित्रैदेखि रोग प्रतिरोध गर्ने शक्ति चाहिँ बढाउनु अबको मुख्य आवश्यकता हो । गाईभैँसी, बाख्रा, कुकुर, विराला, सुँगुरलगायत विश्वका सम्पूर्ण जनावरहरूले मिनरल वाटर खाँदैनन् । मास्क लगाएर पनि हिँड्दैन् । तर पनि उनीहरू तुलनात्मक रूपमा अस्वस्थ्य भएको सुनिंदैन । किन त ? भन्दा उनीहरूमा तनाव हुँदैन र भए पनि अति न्यून हुन्छ । तनाव नै मानिसको रोगको मुख्य कारण हो अर्थात् ८० प्रतिशत रोगको कारण तनाव हो भनी धेरै विद्वान् र दार्शनिकहरूले भनेको पाइन्छ ।
पृथ्वीको धान्न सक्ने क्षमता भनेको छ अर्ब मानिसहरूका लागि मात्र हो, त्यसभन्दा बढी जनसङ्ख्या हुन थालेपछि प्रलयको सम्भावना हुन्छ भनी धर्मशास्त्रहरूमा पनि भनिएको पाइन्छ । प्रलय विभिन्न रूपमा आउन सक्छ । त्यो रोगको आक्रमण, बम मिसाइलको आक्रमण, युद्ध, सुनामी, बाढी, पहिरो, भोकमरी जुन रूपमा पनि हुनसक्छ । प्रसिद्ध अर्थशास्त्री माल्थसले पनि आफ्नो जनसङ्ख्या सिद्धान्तमा यही कुरो बताएका छन् । आध्यात्मिक र वैज्ञानिक दुवै दृष्टिकोणले यो कुरा भनिएको छ र विश्वमा यो स्थिति देखिँदैछ पनि ।
मानिसहरू बढी भएपछि र वैज्ञानिक एवं भौतिक उन्नतिको पराकाष्ठामा पुग्दै गर्दा तनाव बढ्दै गएको पाइन्छ । जताततै प्रतिस्पर्धा छ । अरू त के कुरा, राम्रो स्कुलमा नर्सरी कक्षामा भर्ना पाउन समेत तीव्र प्रतिस्पर्धा हुने गर्नाले केटाकेटी बेलादेखि नै तनाव सुरु भइसक्छ । हाम्रो शिक्षा प्रणाली र अझ भनौं विश्वकै शिक्षा प्रणालीमा नैतिक शिक्षाको व्यवस्था प्रभावकारी रूपमा हुन सकेको देखिँदैन । समाजमा जति बढी पैसा कमायो, त्यसैले बढी इज्जत कमाएको पाइन्छ । त्यो पैसा कहाँबाट आयो, कसरी कमायो भन्ने कुराको खोजीनीति नै छैन । त्यही भएर आज ठूलो जनसङ्ख्या पैसा कमाउने, पदप्रतिष्ठा प्राप्त गर्ने, भोगविलासमा लिप्त हुने, पुस्तौँपुस्तालाई पैसा थुपार्ने कार्यमा गलाकाट प्रतिस्पर्धाका साथ अघि बढेको छ । वैध मार्गबाट मात्र नभई अवैध मार्ग जस्तैः भ्रष्टाचार, चोरी, ठगी, तस्करी आदि उपायहरू समेततर्फ मानिसहरू हाम फालेको पाइन्छ । जब अवैध कर्म गरिन्छ, यसका लागि ढाँट्ने, छल्ने, कुरा लुकाउने, गराइ र भनाइमा फरक गर्नुपर्ने, अर्कालाई धोका दिने, चाकडी र चाप्लुसी गर्ने जस्ता कार्यहरू गर्नुपर्छ । यसो गर्ने क्रममा मानिसलाई धेरै नै तनाव भइरहेको हुन्छ । यो तनावले मानिसको रोग प्रतिरोधात्मक शक्ति क्षीण गरिराखेको हुन्छ । यस्तैमा हो विभिन्न प्रकारका नयाँ भाइरसहरूले आक्रमण गर्ने ।
हामीहरू आफ्नो स्वास्थ्य सिध्याएर पैसा कमाइरहेका हुन्छौँ, अन्त्यमा त्यही पैसा खर्च गरेर स्वास्थ्य किन्न खोज्छौँ, जुन कहिलेकाहीँ उपलब्ध नहुन पनि सक्छ । त्यसो भन्नुको अर्थ, भौतिक सुखसुविधा र पैसा नै चाहिंदैन भनेको होइन । तर यसको सीमारेखा चाहिँ निश्चय नै कोर्नुपर्दछ । आवश्यकता पूरा गर्ने जिम्मा चाहिँ ईश्वरले नै लिएका हुन्छन् भनिन्छ तर जब मानिस इच्छा पूरा गर्नेतर्फ मृगमरिचिका जस्तो भएर लाग्दछ, तब त्यसको परिणाम भनेको उग्र तनाव, कमजोर स्वास्थ्य, कमजोर रोग प्रतिरोधात्मक शक्ति नै हुन् । अहिले विश्वका मानिसहरूमा तनावको स्तर उच्च छ । जहाँ जनसङ्ख्या धेरै हुन्छ, त्यहाँ जीवन सङ्घर्ष पनि उत्तिकै जटिल र तनावपूर्ण हुन्छ, र रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुन्छ । तसर्थ, रोगबाट बच्नका लागि तनाव कम हुनु पर्दछ । रोग प्रतिरोधात्मक शक्ति बलियो हुनुपर्छ । लागिसकेपछि गर्ने भौतिक उपचारात्मक उपायहरू भनेका बाहिरी र अन्तिम
उपाय मात्र हुन् ।
पैसा धेरै कमाएपछि सुविधासम्पन्न जीवनशैली, घरमा काम गर्ने मानिसको व्यवस्था हुन्छ । यसले शारीरिक श्रम हुन पाउँदैन तर मानव शरीरले त स्वस्थ्य हुन श्रम नै खोज्दछ । खानेकुरा पनि बढी नै खाने प्रवृत्ति हुन्छ । तर शरीरका लागि कति क्यालोरी आवश्यक हो भन्ने हेक्कै हुँदैन । पैसा बढी भएपछि बारम्बार रेष्टुरेण्ट जाने प्रवृत्ति पनि हुन्छ । हामीलाई थाहै छ, वाहिरका खानेकुरा कहिल्यै स्वस्थ्यकर हुँदैनन् । अझ, कार्य व्यस्तताका कारण जङ फुड खाने बानीले त झन् स्वास्थ्यलाई बर्बादै गरेको हुन्छ । प्रतिस्पर्धात्मक कार्यव्यस्तताका कारण मानिसहरू आज घामको अनुहारै देख्न नसक्ने भइसकेका छन् । यसले भिटामिन डी को कमी आम समस्या बनेको छ । मानिसको स्वास्थ्य र रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने मुख्य कारणहरू यिनै हुन् । यिनै कारणहरूले मानिसलाई भाइरसले छिट्टै आक्रमण गर्दछ ।
हाम्रा पिता पुर्खाहरू आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित हुन्थे । समाजमा नैतिकता र सदाचार थियो । प्रतिस्पर्धा तीव्र थिएन । दिनभरि घाममा खेतमा काम गर्थे । भिटामिन डी स्वतः प्राप्त हुन्थ्यो । खेतमा फलाएको अर्गानिक खानेकुरा खान्थे । आफूलाई आवश्यक सबै खानेकुराहरू उनीहरू आफैँ फलाउँथे । पशुपालनबाट शुद्ध दूध दही खान्थे । स्वस्थकर, पोषिला खानेकुराले उनीहरूको स्वास्थ्य राम्रो हुन्थ्यो । पर्याप्त परिश्रमले सुगर, कोलेस्ट्रोल र उच्च रक्तचाप हुन पाउँदैनथ्यो । निद्रा राम्रो लाग्थ्यो । पैसा कमाउन, थुपार्न, राम्रो विषय लिएर पढ्न, अत्यधिक अङ्क प्राप्त गर्न अनावश्यक प्रतिस्पर्धा गर्नु पर्र्दैनथ्यो । दैनिक नुहाइधुवाइ, पूजापाठ, दान, धर्म, एकअर्कामा सहयोगको भावना थियो । घरमा धेरै छोराछोरी भएका कारण सबै कुराहरूको अभाव हुँदा पनि एउटा सामञ्जस्य र मायाममता हुन्थ्यो । तीर्थ जाँदा समेत मानिसहरू आफैँ खाना बनाएर खान्थे । खाजा सामल घरैबाट बोक्थे । यी सम्पूर्ण कुराहरूका कारण स्वास्थ्योपचार गराउने संस्थाहरू नहुँदा पनि मानिसहरू स्वस्थ्य थिए । रुघाखोकी लाग्दा त मान्छेहरू एक हप्तामा यसै निको भइहाल्छ भन्थे । घरमै हाम्रा आमा हजुरआमाहरूले १७, १८ जना सन्तान जन्माएको र ती सन्तानहरू स्वस्थ्य नै भएको कुरा त आज एकादेशको कथा जस्तो भएको छ । रुखमा घाँस काट्दा लडेर हात खुट्टा भाँचिँदा समेत जडीबुटी र घरायसी उपचारले निको भएको पनि इतिहास नै मान्नुपर्ने भएको छ । त्यसो भनेर आधुनिक चिकित्सा विज्ञान केही होइन भनेको होइन । बाहिरी चोटपटक, शल्य चिकित्सा आदिको क्षेत्रमा यसको अभूतपूर्व योगदान छ । तर हाम्रा ८० प्रतिशत भित्रिया रोग र भाइरसजन्य आव्रmमणबाट बच्न चाहिँ आधुनिक विज्ञानको मात्र केही लाग्दो रहेनछ । यसका लागि त जीवनशैली नसुधारी धरै छैन ।
तनाव कम लिनका लागि पैसै मात्र सबै थोक हो भनी त्यसका पछि मात्र लाग्ने बानी छोड्न सक्नु पर्दछ । विद्यालय, विश्वविद्यालयमा नैतिक शिक्षा, सदाचार, आफूभन्दा ठूलालाई आदर, सानालाई माया, चोरी र भ्रष्टाचार महापाप हो भन्ने धारणा, आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने भावना, वैध मार्ग, आफ्नो प्रतिभा र सामान्य मार्गबाट मात्र आय आर्जन गर्नु पर्छ, आफूसँग जे छ त्यसैमा सन्तुष्ट हुनुपर्दछ । ध्यान र व्यायाममा जोड दिनुपर्दछ । घरायसी खानेकुरा खानुपर्दछ । दिनहुँ नुहाइधुवाइ गर्नुपर्दछ । मानसिक मात्र होइन शारीरिक श्रम गर्नुपर्दछ । आमा बुबालाई काम सघाउनु पर्दछ । अध्ययन ठूलो मानिस हुन होइन असल मानिस बन्न गर्नुपर्दछ । आत्मनिर्भर र स्वावलम्बी बन्नुपर्दछ भन्ने कुराहरू पाठ्यक्रममा राखी ज्ञान दिन अब धेरै ढिलो भइसकेको छ ।
भाइरस सङ्क्रमण भइहालेमा स्वास्थ्य संस्थामा गई उपचार गर्नमा ढिलाइ गर्न नहुनेमा त दुई मत नै छैन । तर उपचारात्मकभन्दा प्रतिरोधात्मक उपायहरूमा चाहिँ जोड दिनु धेरै नै भरपर्दो, कम खर्चिलो, कम बोझिलो, कम तनावयुक्त उपायहरू हुन् । कोरोना भाइरस मात्र होइन, जुनसुकै अन्य भाइरसबाट बच्ने उपाय भनेको तनावमुक्त सादा सरल जीवनशैली र बलियो रोग प्रतिरोधात्मक क्षमता नै हो । हात धुने, मास्क लगाउने, भीडको सम्पर्कमा नआउने, जडीबुटीयुक्त पोषिलो खानेकुरा खाने, सामान्य आधारभूत भौतिक तरीकाहरू अवलम्बन गर्ने त अनिवार्य नै भइहाल्यो । तसर्थ, कोरोना भाइरसको यो विश्वव्यापी तरङ्ग मानव जीवनशैली सुधार गर्ने एउटा सङ्केत पनि हो कि !
 
(लेखक नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक हुनुहुन्छ ।) 
 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...