समाचार
भेषजराज साहित्य प्रतिष्ठानद्वारा एक सयौं रचनावाचन शृङ्खला सम्पन्न
वालिङ, २८ भदौ ।
भेषजराज साहित्य प्रतिष्ठान, वालिङ स्याङ्जाले आफ्नो नियमित रचनावाचन शृङ्खलाको एक सयौं शृङ्खला सम्पन्न गरेको छ । १६१ औँ मोती जयन्तीको अवसर पारेर वालिङ नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा साहित्यकारहरूले विभिन्न विधाका रचना प्रस्तुत गर्दै नेपाली साहित्यको विकास र समृद्धिमा योगदान पु¥याएका स्रष्टा मोतीराम भट्टको स्मरण गरेका छन् ।
‘संस्कृति, भाषा, कला र साहित्यको संवद्र्धन, भेषजराज साहित्य प्रतिष्ठानको अभियान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. शालिकराम सुवेदीले मोतीराम भट्ट नेपाली साहित्यका बहुआयामिक प्रतिभा भएको चर्चा गर्नुभयो ।
सुवेदीले मोतीराम भट्ट नेपालमा गजल भित्र्याउने पहिलो व्यक्ति हुनुका साथै नेपाली साहित्यमा शृङ्गारिक विधालाई स्थापित गराउने महत्वपूर्ण स्रष्टा भएको बताउनुभयो । मोतीराम भट्ट भानुभक्त आचार्यलाई नेपाली साहित्यमा स्थापित गराउने अन्वेषकसमेत भएको प्रा.डा. सुवेदीले औंल्याए ।
सुवेदीले मानिसको जीवन कति लामो भयो भन्नेभन्दा उसले जीवनमा कस्ता काम ग¥यो भन्ने कुरा महत्वपूर्ण हुने धारणा राख्नुभयो । केवल ३० वर्षको छोटो जीवन बाँचेका मोतीराम भट्टले करिब २५ वटा कृति सिर्जना गरेको उल्लेख गर्दै सुवेदीले उहांले एउटै विधामा सीमित नभई विभिन्न साहित्यिक विधामा कलम चलाएको बताउनुभयो । नेपाली, संस्कृत, हिन्दी, अङ्ग्रेजी र उर्दूलगायत भाषामा समेत दख्खल राख्ने मोतीराम नेपाली साहित्यमा मोतीझैँ चम्किरहेका र आगामी दिनमा पनि चम्किरहने उहांको भनाइ थियो ।
कार्यक्रममा अनन्त अर्याल, लक्ष्मी रेग्मी र साहित्यकार लोकराज शर्माले मोतीराम भट्टका योगदानका साथै समग्र नेपाली साहित्यका विभिन्न पक्षबारे चर्चा गर्नुभएको थियो । त्यस क्रममा लोकराज शर्मा, तेजप्रसाद काफ्लेलगायतले भेषजराज शर्माका कृति, व्यक्तित्व र नेपाली साहित्यमा उहांले पु¥याएको योगदानको समेत स्मरण गर्दै चर्चा गर्नुभएको थियो ।
एक सयौं रचनावाचन शृङ्खलालाई विशेष बनाउने क्रममा जयलाल सुवेदी, लिलाम्बर ढुङ्गाना, दमकुमारी बगाले, ध्रुव शर्मा पङ्गेनी, लोकनाथ काफ्ले, ढालबहादुर केसी, कमल बगाले, टङ्कप्रसाद सुवेदीलगायत एक दर्जनभन्दा बढी स्रष्टाले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
रचनावाचनका क्रममा अधिकांश स्रष्टाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आकस्मिक रूपमा आएको महाबाढी र त्यसबाट सिर्जित मानवीय तथा भौतिक विपत्तिलाई कविताको विषय बनाएका थिए । प्रतिष्ठानले सञ्चालन गर्दै आएको रचनावाचन शृङ्खलाको सयौं शृङ्खला पूरा हुनु साहित्यिक गतिविधिको निरन्तरता र संस्थागत विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको सहभागी साहित्यकारहरूले बताएका छन् । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो ।