समाचार
वालिङ नगर अस्पताल प्रदेश सरकारले वहन नगर्ने निर्णय गरेपछि विवाद
रेडियो आँधीखोला
वालिङ, ३० भदौ ।
स्याङ्जाको वालिङ १ रामबाच्छास्थित प्रदेश सरकार मातहत रहेको वालिङ नगर अस्पताल सञ्चालनमा आउन सकेको छैन । भवन निर्माण सम्पन्न भएर पनि उक्त अस्पतालबाट सेवा सुरु हुन नसकेको हो ।
वालिङ नगर कार्यपालिका बैठकले स्थानीय तह मातहत सञ्चालित यस अस्पताललाई स्तरोन्नति गरेर प्रदेश मातहतबाट सञ्चालन गर्नकालागि प्रदेशलाई अनुरोध गरेको थियो । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश मातहतमा ल्याई २५ शैया क्षमताको अस्पतालकोरुपमा स्तरोन्नति गर्नकालागि संभाब्यता अध्ययन समिति बनाएर काम अगाडि बढाईएको थियो ।
गण्डकी प्रदेश सरकारले प्रदेश मातहत उक्त अस्पताल सञ्चालन गर्ने तर आर्थिक वहन नगर्ने निर्णय गत असारमा गरेपछि सञ्चालनमा समस्या भएको हो । भवन त बन्यो तर अस्पताल सञ्चालन हुन नसकेपछि अबको प्रक्रिया के हुँदैछ भनेर वालिङ नगर प्रमुख कृष्ण खाँणलाई सोधेका थियौं ।
वालिङ तथा यस आसपासका नागरिकहरु सुविधासम्पन्न अस्पतालको अभावमा पोखरा तथा पाल्पाका अस्पतालहरुमा जानुपर्ने बाध्यता छ । वालिङमै दक्ष जनशक्तिसहितको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्न सकेको खण्डमा समयमै उपचार पाउँदा अकालमै मृत्युवरण गर्नुपर्ने दुखद अवस्थाको अन्त्य हुनुकासाथै आर्थिक तथा समयको पनि वचत हुने थियो ।