अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

'समुदायको नजिक खोप केन्द्रहरु विस्तार गर्दै लैजाने तयारी छ'

news

 
  फागुन २३, २०७७ आइतबार 
आजदेखि ज्येष्ठ नागरिकलाई लक्षित गरेर दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौमा रहेको शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियानको सुरुवात गर्नु हुनेछ । पहिलो खोप अभियान गएको माघ १४ गतेदेखि सुरु भएको थियो । पहिलो चरणमा,धेरै जनसङ्ख्यालाई जोगाउन सक्ने सानो वर्गलाई खोप लगाइयो । पहिलो चरणमा भएका कमी कमजोरीलाई सुधारेर दोस्रो चरणमा खोप लगाइन्छ । खोप लगाउनका लागि सबै तयारी पूरा भइसकेको छ । 
 
५५ वर्षभन्दा माथि उमेर समूहलाई लक्षित गरेर खोप लगाइने भनिए पनि त्योभन्दा पनि अझ जोखिम समूह ६५ वर्षभन्दा माथिकालाई सुरुमा खोप लगाइन्छ । त्यसपछि उमेर समूह घटाउँदै खोप दिइन्छ  । खोप केन्द्र व्यवस्थापनका लागि समन्वय, आवश्यक सामग्री व्यवस्थापन, केन्द्रसम्म खोप पुर्याउने, खोप लगाउनका लागि परिचालित हुने स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थालगायतका सबै काम भइसके । 
 
यस्तै खोप केन्द्रमा हुन सक्ने सम्भावित घटनालाई व्यवस्थापन गर्नेदेखि खोप लगाउन जानेलाई समन्वय गर्नेबारे पनि सबै तयारी भइसकेको छ । यो भनेको खोप सुरु गर्ने अवस्थासम्मको सबै तयारी सकिएको हो ।
 
सरकारले पहिलो चरणको खोप अभियान सञ्चालन गर्दा पनि बढी प्राथमिकतामा परेका र त्यसपछि क्रमश : कम प्राथमिकतामा परेकाको छनोट गरेको थियो । जसरी पहिलो चरणको सुरुवातमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, त्यसपछि पत्रकार र जनप्रतिनिधिलाई लगाइयो।
 
यो चरणमा पनि ज्येष्ठ नागरिकहरुमै पनि पहिला ६५ वर्षभन्दा माथि उमेर समूहकालाई लगाउन लागिएको हो । त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहकालाई लगाइन्छ । यसमा अलमलिनु पर्ने कुरा केही छैन । त्यसपछि बिस्तारै कम उमेर समूहकालाई खोप लगाउँदै जाने हो । 
 
जनसङ्ख्याको ७२ प्रतिशत नागरिक सबैलाई खोप लगाउने भनेर सरकारले त्यहीअनुसारको  तयारी गरिरहेको छ ।
 
खोपहरु आउँदै गर्छन् : प्राथमिकताको आधारमा लगाउँदै जाने हो  
 
विश्वभरको मागअनुसार खोप उपलब्ध हुन सकेको छैन । यस्तो अवस्थामा पनि नेपालले खोप ल्याएको छ । यो सकारात्मक कुरा हो । 
 
विश्वका धेरै विकसित देशलेसमेत सुरु गर्न नसेकेको खोप अभियान नेपालले छिट्टै नै सुरु गर्यो । तीव्र प्रतिस्पर्धाको अवस्थामा  खोप ल्याउने विषयमा पनि हामी अगाडि नै छौँ । दक्षिण एसियामा भारतपछि नेपाल खोप लगाउने पहिलो देश बनेको छ ।
 
अहिलेसम्म अभियान नै सुरु गर्न नसकेका देशले पनि खोप प्राप्त गरुन्  र हाम्रो अभियान पनि निरन्तर चल्दै जाओस् भन्ने उद्देश्य सरकारको हो । यहीअनुसार सरकारले पनि काम गरिरहेको छ । भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिदका लागि सरकारले अग्रिम भुक्तानी गरिसकेको थियो । त्यसमध्ये १० लाख डोज आयो । बाँकी १० लाख डोज खोप आउने क्रममा नै छ । २,४ दिनको मात्र फरक होला तर समयमै आउँछ । 
 
कोभ्याक्स सुविधामार्फत् पनि ठूलो संख्यामा खोप आउँछ । सरकारले अर्को चरणमा ५० लाख डोज खरिद गर्नका लागि पनि प्रक्रिया अगाडि बढाइरहेको छ । खोपहरु आउँदै जान्छन् र प्राथमिकताका आधारमा लगाउँदै पनि जाने हो ।  
 
कोभ्याक्स सुविधामार्फत् पनि ३ लाख ४८ हजार डोज खोप नेपाल भित्र्याइएको छ । खोपको उत्पादन कम भएकाले  खोप खरिदका लागि निक्कै प्रयास गर्नुपर्छ । तैपनि सरकार लागिपरेको छ । धेरै खोप एकैपटक ल्याएर राख्नु उचित हुँदैन । खोप थन्क्याएर राखेर, खेर गयो भने नेपाललाई ठूलो आर्थिक भार पर्न सक्छ । अहिले एकैपटक धेरै खोप नल्याइएको भण्डारण क्षमता नभएर होइन ।   
 
अझै पनि धेरै लाख डोज खोप राख्न सक्ने क्षमता नेपालमा  छ । खोप लगाइदिनसक्ने क्षमता, ढुवानी क्षमता आदिलाई  हेरेर बिस्तारै खरिद प्रक्रिया अगाडि बढाउन खोजिएको हो । अहिलेसम्म खोप लगाएको अनुभव विश्लेषण गरेर त्यसकै आधारमा अगाडिको बाटो तय गर्दै जाने हो । बिस्तारै समुदायको पहुँच हुने गरि खोप केन्द्रहरु बढाउँदै लगिन्छ । पायक पर्ने ठाउँमा खोप उपलब्ध हुनेगरी सरकारले व्यवस्था गरिरहेको छ । 
 
खोप केन्द्र तोक्ने र कस्ले कुन समयमा लगाउने भनेर समन्वय गर्ने जिम्मा स्थानीय सरकारलाई नै दिइएको छ । स्थानीय सरकारले जिल्ला खोप समन्वय समितिसँगको समन्वयमा काम गर्छ । 
 
खोप केन्द्रहरु धेरै टाढा छैनन्  
 
खोप केन्द्रसम्म जान नसक्नेहरुका लागि पालिकाले नै व्यवस्थापन गर्छ । अहिलेको चरणमा पनि खोप केन्द्रहरु धेरै टाढा छैनन् । सकेसम्म  समुदायको नजिक खोप केन्द्रहरु विस्तार गर्दै  लैजाने तयारी भइरहेको छ । वृद्धाश्रममा भएकाहरुलाई त्यही गएर खोप लगाउन निर्देशन गरिएको छ । 
 
नजिकैको खोप केन्द्रमा जान नसक्ने जनसङ्ख्या धेरै हुँदै गयो भने त्यसलाई पनि विश्लेषण गरेर सरकारले फेरि आवश्यक तयारी थाल्नेछ । खोप लगाउन जानुभन्दा अगाडि स्वास्थ्य केन्द्रमा आफ्नो अवस्था के छ, अरु केही समस्या छ या छैन भनेर सजग हुनुपर्छ र खोप केन्द्रमा रहेका स्वास्थ्यकर्मीले सोधेमा पनि आफूले सबै जानकारी गराउनुपर्छ । 
 
सम्बन्धित स्वास्थ्यकर्मीले खोप लगाउन आएकाको अवस्था थाहा पाएपछि  त्यसैअनुसार जानकारी तथा परामर्श  दिनुपर्छ । त्यतिमात्र नभइ खोप लगाउने बेलामा पनि खोप सुरक्षित भएको र खोप लगाइसकेपछि आधा घण्टा आराम गर्नका लागि स्वास्थ्यकर्मीले अनुरोध गर्नुपर्छ । खोप लगाउनेले आफूले पहिलो डोज लगाएपछि दोस्रो डोज कहिले लगाउने भनेर सोध्नुपर्छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चारमाध्यम र सम्बन्धित निकायले  खोपका विषयमा पटकपटक जानकारीहरु दिइरहेका छन् । खोप एकदमै सुरक्षित भएकाले डराउनु पर्दैन । योभन्दा अगाडि पनि नेपालमा विभिन्न रोगविरुद्ध खोप अभियान  सञ्चालन भएका थिए । 
 
खोपले धेरैभन्दा धेरैको ज्यान जोगाउन सफल भएको छ । खोप लगाएपछि धेरै रोगहरु निर्मुल भएका, कम भएका प्रशस्तै उदाहरण छन् । नियमित लगाइने खोपहरुबाट पनि सामान्य समस्या  देखिन्छ । कोरोनाको खोप नयाँ हो भन्दैमा डराउनु पर्दैन । 
 
सुरुमा खोपबारे केही नकारात्मक भ्रमहरु फैलिए । ती भ्रमहरु अहिले कम हुँदै गएका छन् । कसैले भ्रमपूर्ण कुराहरु सुनाएमा पनि आधिकारिक कुरा के हो भनेर बुझ्नुपर्छ । आधिकारिक व्यक्ति वा संस्थाको कुरा बुझेर र सुनेर त्यहीअनुसारको धारणा बनाउनुपर्छ । र सूचना सम्प्रेषण गर्नुपर्छ । 
 
कागले कान लग्यो भनेर कसैले भन्यो भने कागको पछाडि दौडिनुभन्दा कान मसँग छ कि छैन भनेर हेर्नुपर्छ । नयाँ विषयमा समाजले पहिला नै आफ्नो धारणा बनाएका हुन्छन् । आफ्नै धारण फैलाइरहेका पनि हुन्छन् । त्यसको पछाडि लाग्नु हुँदैन । 
 
नेपालमा अहिलेसम्म साढे ४ लाखभन्दा धेरैले खोप लगाइसकेका छन् । खोप लगाउनेमध्ये लाखौँ स्वास्थ्यकर्मी हुनुहुन्छ । विश्वमा २८ करोडभन्दा धेरैले  खोप लगाइसकेका छन् । तर खोपकै कारण कसैको पनि ज्यान गएको छैन । त्यसैले कसैले खोपलाई लिएर नराम्रो टिकाटिप्पणी गरेको छ भने पनि पत्याउनु हुँदैन  । 
 
कोरोनाको खोप या जुनसुकै खोप लगाउँदा सियोले छालालाई घोचेपछि अलिअलि दुख्छ । सामान्य  टाउको दुख्ने, सामान्य वाकवाकी लाग्ने हुन्छ । यो स्वाभाविक घटना हो । मुर्छा परेमा, एक्कासी गाह्रो भएमा त्यो अस्वाभाविक घटना हो । त्यही भएर खोप लगाइसकेपछि केही समय स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ भनिएको हो । नेपालमा त्यस्तो अस्वाभाविक घटना कसैलाई पनि भएको छैन ।
 
आधा घण्टाभित्रमा गम्भीर समस्या देखिएन भनेपछि फेरि गम्भीर समस्या देखिने सम्भावना  त्यति हुँदैन । नेपालमा जम्मा ८ जनालाई समस्या देखिएर अस्पताल भर्ना गरिएको त्यो पनि अहिले ठिक भइसकेको छ । 
 
खोप नै कोरोनाको औषधि होइन   
 
खोप नै औषधि होइन । जनस्वास्थ्यको मापदण्डको पालना गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
 
खोप पनि लगाउँदै जाने र जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्दै जानुपर्छ । समुदायमा रहेका १० जनामध्ये ७ जना सुरक्षित भएपछि अर्कोमा सर्ने चक्र कम हुन्छ । त्यही भएर समुदायमा १० जना छन् भने ७ जनाले खोप लगाउनै पर्ने हुन्छ । त्योसँगै सधैंभरि भन्दै आएको जनस्वास्थ्यको मापदण्ड पालना गर्न छुटाउनै भएन । 
 
नेपालमा कोरोना भाइरसविरुद्धको खोप आइपुग्न एक वर्ष लाग्यो । जनस्वास्थ्यका मापदण्ड पालना गरेमा कोरोना मात्र नभइ अरु रोगबाट पनि बच्न सकिन्छ । कोरोनाको अहिले लगाइएको पहिलो डोज खोप लगाएको न्यूनतम ४ हप्तामा  र अधिकतम १२ हप्ताको अन्तरालमा लगाउँदा राम्रो हुन्छ । पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज पनि त्यसैगरी लगाउने तयारी भइरहेको छ । 
 
(स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा .समिर अधिकारीसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित ) 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...