समाचार
अमेरिकामा प्रहरीद्वारा मारिएका जोर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने
फागुन २९,
काठमाण्डाै - अमेरिकामा प्रहरी हिरासतका क्रममा ज्यान गुमाएका अफ्रिकी अमेरिकी समुदायका जोर्ज फ्लोइडको परिवारले २७ मिलियन अमेरिकी डलर राहत पाउने भएको छ ।
गएको वर्षको मे महिनामा अमेरिकामा पुलिसबाट मारिएका अश्वेत व्यक्ति जर्ज फ्लोइडको परिवारले २७ मिलियन अमेरिकी डलर राहत पाउने भएको हो ।
अमेरिकाको सहर मिनियापोलिसको प्रशासनले फ्लोइडको परिवारलाई २७ मिलियन अमेरिकी डलर राहत दिने घोषणा गर्नुअघि मिनियापोलिस नगर परिषद्को बैठकले पारित गरेको थियो ।
गएको वर्षको मे महिनामा अमेरिकाका एक प्रहरी अधिकारी डेरेक चौविनले घुँडामुनि थिचेर हत्या गरेको भिडियो भाइरल भएको थियो । भिडियोमा चौविनले फ्लोइडको घाँटीमा धेरै मिनेट घुँडाले टेकेर थिचेको देख्न सकिन्छ ।
फ्लोइड मृत्यु प्रकरणको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञासमेत जारी भएको थियो । फ्लोइडको मृत्यु प्रकरणलाई लिएर अमेरिकाको मिनेसोटा राज्यले मिनियापोलिसका प्रहरीविरुद्ध मानव अधिकारसम्बन्धी उजुरीसमेत दर्ता गराएको थियो ।