समाचार
रुस–युक्रेन तनाव : युरोप जोड्ने रुसी ग्याँस पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी
युक्रेनको विषयलाई लिएर अमेरिकाले रुसी ग्याँस पाइपलाइन सञ्चालन हुन नदिने चेतावनी दिएको छ।
अमेरिकाले युरोप जोड्ने प्रमुख रुसी ग्याँस पाइपलाइनलाई सञ्चालन हुन नदिने चेतावनी दिएको हो ।
नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो । रुसले युक्रेनमा हमला गरे ग्याँस पाइपलाइन परियोजनामा प्रतिबन्ध लाग्न सक्ने भनिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले रुसले युक्रेनमाथि आक्रमण गरेमा नोर्ड स्ट्रिम टु अघि नबढ्ने बताउनुभएको छ । साथै अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने उल्लेख छ । पश्चिमा साझेदारहरूले रुसले आक्रमण गरेमा उसको अर्थतन्त्रलाई निसाना बनाउने समेत बताएका बीबीसीले जनाएको छ ।
तर रुसले आफूले आक्रमण गर्ने कुनै पनि योजना नबनाएको बताउँदै आएको छ । तर युक्रेनको सीमामा सुरक्षा फौज खटाएपछि तनाव चुलिएको छ । अमेरिकाले युक्रेनी सीमामा रुसी फौज जम्मा हुँदा अन्तर्राष्ट्रिय शान्तिमा परेको जोखिमको विषयमा राष्ट्र सङ्घको सुरक्षा परिषदमा छलफल गरियोस् भन्ने माग समेत गरेको छ ।