अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

मुख्यमन्त्री कप भलिबल सम्पन्न, बाग्लुङ र म्याग्दी बिजयी

 
रेडियो आँधीखोला 
वालिङ, ४ फाल्गुन ।
मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बाग्लुङ र महिलातर्फ म्याग्दीले जितेको छ । बुधबार स्याङ्जाको वालिङमा भएको फाईनल प्रतिस्पर्धामा पुरुषतर्फ बाग्लुङले पर्वतलाई पराजित गर्दै उपाधि चुमेको हो । बाग्लुङले पर्वतलाई २५–१९, २५–२२ र २८–२६ अंकले पराजित गरेको हो । पर्वतले एकमात्रै सेट २९–२७ ले जितेको थियो । पराजयसँगै पुरुषतर्फ पर्वत दोस्रो हुँदा नवलपुर तेस्रो र तनहुँले सान्त्वना स्थान प्राप्त गरेको छ ।
 
पुरुष भलिबलतर्फ गण्डकी प्रदेशका एघार वटै जिल्लाको सहभागिता रहेको थियो । बुधबार सम्पन्न भएको महिलातर्फको फाईनल खेलमा म्याग्दी बिजयी भएको छ । म्याग्दीले पर्वतलाई पराजित गर्दै उपाधि चुमेको हो । पराजयसँगै पर्वत द्वितीय, स्याङ्जा तृतीय र तनहुँले सान्त्वना स्थान प्राप्त गरेको छ ।
 
गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा गत सोमबारबाट वालिङमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरूष भलिबल प्रतियोगिता भएको हो । प्रदेश खेलकुद परिषद पोखराको आयोजना, गण्डकी प्रदेश भलिबल संघ पोखराको प्राविधिक सहयोग, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति स्याङ्जा र जिल्ला भलिबल संघ स्याङ्जाको समन्वयमा प्रतियोगिता भएको हो ।
 
प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये पुरूषतर्फ ११ र महिलातर्फ १० जिल्लाका खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः नगद एकलाख ५० हजार, एकलाख, ५० हजार र ३० हजार रहेको छ । महिला र पुरुषतर्फको प्रथम र द्वितीय पुरस्कार बिहीबार गण्डकी प्रदेश स्थापना दिवसका दिन पोखरास्थित सभागृहमा आयोजित कार्यक्रममा वितरण गरिने प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले जानकारी दिनुभयो ।
 
तृतीय तथा सान्त्वनासहित विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई वालिङमै पुरस्कार वितरण गरिएको हो । प्रतियोगिताको समापन समारोहमा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले खेल क्षेत्रको विकासकालागि खेलाडीको क्षमता विकास र पूर्वाधारहरु निर्माण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । 
 
उहाँले यसप्रकारका प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिंदै जानुपर्नेमा जोड दिनुभयो । प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...