समाचार
छायाँक्षेत्र मन्दिरमा शिवरात्रि मेलाको तयारी पुरा
रेडियो आँधीखोला
वालिङ, ५ फाल्गुन ।
गण्डकी प्रदेशकै प्रसिद्ध मन्दिर छायाँक्षेत्र मन्दिरमा महाशिवरात्रि मेलाको तयारी पुरा भएको छ । यही फाल्गुन ६ गते महाशिवरात्रिको दिन मन्दिरमा आयोजित मेलाको तयारी पुरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो । मन्दिर प्रवेशद्धार तथा मन्दिरहरुमा रंगरोगन, ध्यजापतक तथा सरसफाईको कार्य सम्पन्न भएको श्रेष्ठले जानकारी दिनुभयो ।
मन्दिरमा महाशिवरात्रिका दिन भक्तजनहरु विहानै ३ बजेबाटै मन्दिरमा स्नानका लागी जाने गर्छन् । मन्दिरमा सम्म जाने लाईनका व्यवस्थापन, द्रुत मार्गको निर्माण समेत सम्पन्न गरिएको छ । उक्त दिन २० हजार भक्तजनले मन्दिरको दर्शन गर्ने मन्दिर व्यवस्थपन समितिले अपेक्षा गरेको छ । श्रीस्वथानी ब्रत कथामा समेत छाङछाङदीको महिमा उल्लेख गरिएको छ ।
सकेसम्म निशुल्क लाईनमै बसेर मर्यादित तथा अनुशासित रुपमा स्नान तथा मन्दिरको दर्शन गर्न मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भक्तजनहरुलाई आग्रह गर्नुभयो । मन्दिर परिसरमा १०८ जलधारा तथा १०८ शिवलिंग स्थापनार्थ दु्रत मार्ग मार्फत जान चाहाने भक्तजनहरुले दुई सय रुपैँयाको टिकट काटेर छिटो मन्दिर दर्शन तथा लाईनमै नबसी मन्दिरमा स्नान तथा दर्शन गर्न सक्नेछन्् । दु्रत मार्गमा असक्त तथा बृद्धबृद्धाहरुलाई निशुल्क सेवा दिईनेछ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सकेसम्म हामीले हाम्रा भक्तजनहरुलाई लाईनमै बसेर मर्यादिन तथा अनुशासित रुपमा मन्दिर दर्शनको लागी आग्रह गर्दछौँ । यदि टाढा टाढाबाट आउनुभएको छ छिटो फर्कनुपर्नेछ भने उहाँहरुको लागी दु्रत मार्गको व्यवस्था गरेका छौँ । यसरी दु्रत मार्ग सेवा दिए मार्फत संकलित रकम १०८ जलधारा तथा शिवलिंग निर्माणमा लगाईनेछ ।’
मन्दिरमा टाढा टाढाबाट आउने भक्तजनहरुका लागी आवासको समेत व्यवस्था गरिएको छ । निशुल्क आवासको व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । टाढा टाढाका भक्तजनहरु अघिल्लै दिन आएर समेत मन्दिर दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशबाट समेत महाशिवरात्रिमा भक्तजनहरु आउनेछन् ।
मन्दिरमा विशेष गरी महाशिवरात्रि, साउने सोमबर, ठुली एकादशी, श्रीकृष्णजन्माष्ठमीलगायतका विभिन्न पर्वहरुमा मेला लाग्ने गर्छ । श्री स्वस्थानीमा उल्लेख गरिएअनुसार शिव भगवानले आफ्नी मृत सतिदेवीको शरिर लिएर ब्रमाण्ड डुल्ने क्रममा यहाँ आइपुग्दा सम्पपुर्ण अंग खसेर छयाङ भएको र भगवान शिवले त्रिशुल प्रहार गरी जल निकालेर आफ्नो तिर्खा मेटाएको र उक्त जल अहिले पनि छाङछाङ गर्दै बगिरहेकाले सोही जलले स्नान तथा शिवको पुजा आरधानाका लागी टाढा टाढाबाट समेत भक्तजनहरु यहाँ आउने गरेका छन्।