समाचार
प्रजातन्त्र दिवसको अवसरमा बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता
रेडयो आँधीखोला
वालिङ, ८ फाल्गुन ।
प्रजातन्त्र दिवसको अवसरमा वालिङ बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघ वालिङ बह्मुखी क्याम्पस इकाइको आयोजनामा आईतवार क्याम्पसको सभाहलमा जिल्लका कक्षा ८ देखि १२ सम्मको माध्यमिक विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
‘नेपालको प्रजातान्त्रिक शासन व्यवस्थामा नागरिकको भूमिका’ विषयक वक्तृत्वकलामा बालोदय माध्यमिक विद्यालय भीरकोटकी बिनिशा खनाल प्रथम भएकी छन् भने भूम्रे मावि वालिङका पोषकान्त लुईटेल द्धितिय र सोही विद्यालयकी सन्ध्या गहतराज तृतिय भएका छन् । प्रतियोगितामा विजयी प्रतियोगिहरुलाई पुरस्कार स्वरुप नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
। कार्यक्रमको उद्घाटन गर्दै काँग्रेसका प्रदेश सचिव अमृत अर्यालले आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउनुभयो । अर्यालले २००७ सालको संघर्र्षबाट नै मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानिया राणा शासन अन्त भई प्रजातान्त्रिक राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भएको कुरामा जोड दिनुभयो । काँग्रेसका प्रदेश प्रतिनिधि ध्रुव पंगेनीले यही संघर्षबाट नै नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्ने बाटो प्रशस्त भएको बताउनुभयो ।
अनेरास्ववियूका सुसान्त श्रेष्ठले नेपालको आधुनिकतातर्फको ढोका पनि यही परिवर्तनबाट खुलेको जिकिर गर्नुभयोे । कार्यक्रममा नेविसंघका विपिन कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो । नेविसंघ वालिङ क्याम्पस इकाई सभापति दिलिप श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन नेविसंघका इकाई सचिव युवराज तिवारीले गर्नुभएको थियो ।
प्रतियोगिताको निर्णायकमा वालिङ बहुमुखी क्याम्पसका प्रध्यापक इन्दु श्रेष्ठ तथा विश्व हिन्दु युवा संघ स्याङजाका अध्यक्ष नवराज पौडेल रहनुभएको थियो । नेपाल बिद्यार्थी संघ वालिङ बह्मुखी क्याम्पस इकाइको संयोजनमा प्रजातन्त्र दिवस (७ फागुन)का अवसरमा वृक्षारोपण, वक्तृत्वकला, सरसफाई, अन्तरक्रिया तथा विचार गोष्ठी कार्यक्रम समेत सम्पन्न भएको छ ।
नेविसंघ क्याम्पस इकाइ समितिले ७३ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा क्याम्पस परिसरमा वृक्षरोपण तथा सरसफाई गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा नेविसंघ क्याम्पस इकाइ अध्यक्ष दिलिप श्रेष्ठको संयोजकत्वमा विविध कार्यक्रम सम्पन्न गरिएको गरिएको नेविसंघले जनाएको छ ।