समाचार
अपाङ्गता भएका र सरोकारवाला पक्षहरुबीच समन्वय गरिने
आँधीखोला खबर
वालिङ, ९ फागुन ।
अपाङ्गता भएका ब्यक्तिहरुले भोग्दै आएका समस्याहरुको पहिचान गरी समाधानकालागि सरोकारवाला पक्षहरुबीच समन्वयात्मक पहल थालिने भएको छ । स्याङ्जा अपाङ्ग समाज स्थानीय साझेदार संस्था रहने गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र द एशिया फाउण्डेशनको सहयोगमा स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित अपाङ्गता समावेशी स्थानीय शासन कार्यक्रमतर्फ गठित पैरवी समूहले अपाङ्गता भएकाहरु र सरोकारवाला पक्षहरुकाबीचमा समन्वय गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । त्यस्तै अपाङ्गता भएकाहरुकालागि आवश्यकता पहिचान गरी आगामी दिनमा थप कार्यक्रमहरु सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।
अपाङ्गता भएकाहरुको समस्या पहिचान गर्ने र त्यसको समाधानकालागि सरोकारवाला निकायहरुसँग समन्वय गर्ने गरी दुई छुट्टाछुट्टै कार्य सम्पादनकालागि जिम्मेवारीसमेत दिईएको पैरवी समूहका संयोजक एवं स्याङ्जा अपांगता समाजका अध्यक्ष राम शर्मा अर्यालले बताउनुभयो । समस्याहरुको पहिचान गरी त्यसको समाधानकालागि सरोकारवाला पक्षसँग समन्वय गर्दै समाधानको पहल थालिने कार्यक्रमको फोकल पर्सन युवराज पराजुलीले बताउनुभयो । वालिङ नगरस्तरीय अपाङ्गता सञ्जालका संयोजक डेलबहादुर विक लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।