समाचार
भीरकोट ८ मा बंगुर पालन तालिम शुरु
रेडियो आँधीखोला
वालिङ, १५ फाल्गुन ।
भीरकोट नगरपालिका वडा नंं. ८ मा बंगुर पालन तालिम शुरु भएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम पिएलजिएसपि गण्डकी प्रदेश र भीरकोट नगरपालिकाको साझेदारीमा संचालित नवप्रर्वतन साझेदारी कोष कार्यक्रम अन्र्तगत तालिम आयोजना गरिएको हो । व्यवसायिक बंगुर पालन तालिमको वडा नं. ८ स्थित मोहनडाँडामा उद्दघाटन गर्दै नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले तालिमको सहि उपयोग गरी व्यवसायिक बन्न किसानहरुलाई आग्रह गर्नुभयो । परम्परागत रुपमा गरिँदै आईएको बंगुरपालनलाई व्यवसायिक रुपमा अगाडि बढाउँदै आयआर्जनसंग जोडिन नगरप्रमुख कर्माचार्यले आग्रह गर्नुभएको हो ।
व्यवसायिक रुपमा लाग्ने भीरकोटका कृषकहरुलाई नगरले साथ दिने भन्दै मासुमा नगरलाई आत्मनिर्भर बनाउन किसानहरुलाई व्यवसायिकतातर्फ लाग्न प्रेरित गरिने प्रमुख कर्माचार्यको भनाई छ । कार्यक्रमा वडा नं. ८ का अध्यक्ष नन्दलाल खनालले समेत सहभागिलाई तालिमको भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । तालिम दुई समुह मार्फत दिईने छ ।
हाल वडा नं. ५, ८ ९ का कृषकहरुको समुह बनाएर तालिम प्रदान गरिएको हो । वडा नं. ५ का वडा अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत पशु साखा प्रमुख भावना पौडेल केसीले गर्नुभएको नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले गर्नुभएको थियो । तालिममा पशु साखाका कर्मचारीहरुले सहजीकरण गरेका छन् ।