समाचार
“हरित पुनरुत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल“ परियोजना अन्तर्गत कार्यप्रगती समिक्षा बैठक कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, १६ फाल्गुन ।
पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको आर्थिक र प्राविधिक सहयोग तथा सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा संचालित “हरित पुनरुत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल“ परियोजना अन्तर्गत कार्यप्रगती समिक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले यस कार्यक्रमबाट नगर क्षेत्रका अधिकांश कृषकहरुको उल्लेख्य प्रगती भएको बताउनुभयो ।
उहाँले साझेदारी राम्रो भएको, कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको बताउदै यस कार्यक्रमलाई थप निरन्तरता दिनका लागि युएनडीपी सँग समेत आग्रह गर्नुभयो । उहाँले साझेदारी निरन्तरता हुने विश्वास समेत लिएको उल्लेख गर्नुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्याल, सुन्तला सुपरजोन कार्यालयका प्रमुख माधव प्रसाद लम्साल र सूर्योदय क्लबको अध्यक्ष अनन्त कुमार श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो ।
नगरप्रमुख रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन परियोजना प्रशासन तथा कम्प्युटर सहायक कमला रोका गोदारले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले राख्नुभएको थियो । कार्यक्रममा कार्यप्रगती प्रस्तुती कार्यक्रम संयोजक श्रुति श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमबाट पालिकाका १४
वटै वडाका ६ सय ४९ जना लाभग्राही रहेका छन् । यस वर्ष काउली, ब्रोकाउली, बन्दा र साग ३०६० ग्रा बिउ वितरण गरिएकोमा २ लाख ७३ हजार १७१ बेर्ना उत्पादन भएका छन् । त्यसैगरी लहरे बाली तर्फ करेला घिरौला काक्रो अकबरे खुर्सानी लौका टमाटर र एम.एस खुर्सानी गरी ३३ हजार ११४ ग्राम बिउ साथै पोलीब्याग १२९ के.जी. नर्सरी प्लाष्टिक ४ हजार ५ सय ७६ मिटर वितरण गरिएको छ । यस कार्यक्रममा विषेश गरेर महिला, सिमान्तकृत समुदाय एवं विभिन्न लक्षित वर्ग हरुलाई प्राथमिकता दिइएको पालिकाले जनाएको छ ।