समाचार
समुन्नत मुलुक निर्माणका लागि जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारीबीचको सम्बन्ध सकारात्मक हुनुपर्छ ः सांसद थापा
रेडियो आँधीखोला
वालिङ, १७ फाल्गुन ।
प्रतिनिधिसभा सदस्य राजु थापाले समुन्नत मुलुक निर्माणका लागि जनप्रतिनिधी र राष्ट्रसेवक कर्मचारीबीचको सम्बन्ध सकारात्मक हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति स्याङ्जाद्धारा आयोजित आर्थिक बर्ष २०७८÷०७९ को जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रममा बोल्दै सांसद थापाले राजनीतिकर्मी र कर्मचारीबीच खाडल राख्न नहुनेमा जोड दिनुभएको हो । ‘नेता वा नेतृत्व असफल हुँदा राष्ट्रसेवक कर्मचारी पनि असफल नै हुन्छ ।’ उहाँले भन्नुभयो, ‘सबै मिलेर मुलुक निर्माणमा जुट्नुको विकल्प छैन ।’
विगतका कमी कमजोरी सुधार गर्दै अघि बढ्नु पर्ने बताउदै काँग्रेस जिल्ला सभापति समेत रहनुभएका थापाले भन्नुभयो, ‘विगतका मानवीय गल्तीबाट पाठ सिक्दै अघि बढौं, सुन्दर भबिष्य निर्माणमा जुटौं ।’ ‘दिनप्रतिदिन सुनिदै आएका भ्रष्टाचार, अनियमितताका घटनामा पनि कि त कर्मचारी कि त नेताकै नाम सुनिन्छ । मन्त्री परिवर्तन हुने बित्तिकै सिडियो र एसपी परिवर्तनको खेल सुरु गरिन्छ । यस्ता कार्यले सिंगो समाज र जिल्लालाई नै प्रभावित बनाउने गर्छ । मानवअधिकार उल्लंघनका घटना बढेका छन् । यसतर्फ सबै सचेत रहन जरुरी छ ।’ उहाँले भन्नुभयो ।
‘राष्ट्रिय स्वार्थका लागि नेता÷नेतृत्व र राष्ट्रसेवक मिलेमा मात्र मुलुकको समृद्धी हुन्छ । मुलुकको अर्थतन्त्र खराब बन्दै गएको छ । सबैले राष्ट्रप्रति इमान्दारिता देखाउदै शुसासन, पारदर्शिता र आर्थिक समृद्धीको खोजी गरौं ।’ सबैको सहयोग र चाहनाले सुन्दर ब्यवस्था आएको बताउदै सांसद थापाले यसको पूर्ण कार्यान्वयनका लागि राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी मिलेर अघि बढ्नु आवश्यक छ ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्यहरु भोजराज अर्याल, कल्पना तिवारी र निर्मला थापा, जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटी, उपप्रमुख खडगराज सुवेदी, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइराला लगायतले समग्र जिल्लाको विकासका कार्यक्रमका बारेमा आ आफना धारणा एवं सुझाव दिनुभएको थियो । समिक्षा कार्यक्रममा जिल्ला स्थित ११ वटै स्थानीय पालिका, सरकारी कार्यालय र विभिन्न संघसंस्थाहरुले आ आफना बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।