समाचार
आँधीखोला सरसफाई अभियानको एघारौँ हप्ता
रेडियो आँधीखोला
वालिङ, २८ फाल्गुन ।
ऐतिहासिक तथा धार्मिक महत्व रहेको आँधीखोलाको एघारौँ हप्ता सरसफाई अभियान अन्र्तगत आज सिटिहल परिसरमा सरसफाई गरिएको छ । वालिङका युवाहरुले आँधीखोला संरक्षण सरोकार मञ्च नै स्थापना गरि आँधीखोला सरसफाईमा जुटेको झण्डै तिन महिना पुरा हुन थालेको छ । स्रवण कुमार र उनका बाबुआमा संग जोडिएको आँधीखोलामा जथाभावी फोहोर फाल्दा खोलाको अस्तित्व संकटमा आउन थालेको भन्दै यहाँका युवाहरु एक जुट भएर हरेक हप्ता सरसफाई गर्दै आएका छन् ।
स्मार्ट सिटिको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले सरसफाईमा उत्कृष्ठ बन्दै पुरस्कृत समेत हुँदै आएको छ । तर आँधीखोलामा जथाभावी फालिएका फोहोरले वातावरणीय प्रदुषण तथा खोलाको अस्तित्वमा संकट आउन थालेपछि युवाहरुले सरसफाई अभियान संचालन गर्दै आएका छन् । जनचेतनाका लागी माईकिङ तथा सचेतना रयाली समेत गरेको आँधीखोला संरक्षण मञ्चले हरेक हप्ताको शनिबार बिहान विभिन्न क्षेत्रका नागरिक तथा आम सर्वसाधरणलाई समेत सरसफाईमा सहभागि बनाउँदै आएका छन् ।
एघारौँ हप्ता सम्म आईपुग्दा एघार ट्रिपर फोहोर व्यवस्थापन गरिएको छ । नगरपालिकाको सरसफाईको ट्रिपरमा नकुहिँने प्लाष्टिक जन्य फोहोर तथा सिसा जन्य फोहोर वर्गीकरण गरी व्यवस्थापन गरिएको छ । धार्मिक महत्व बोकेको आँधीखोलालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भन्दै यसको संरक्षणका लागी युवाहरु एक जुट भएको अभियानका संयोजक प्रकाश अर्यालले बताउनुभयो । सरसफाई कार्यक्रममा विभिन्न संघसंस्था तथा आमा समुह, सुरक्षा निकाय लगायत सर्वसाधारण सहभागि हुँदै आएका छन् ।
एघारौँ हप्तामा वालिङ नगरपालिका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद पाण्डे, नगरपालिकाका कर्मचराीहरु, ईलाका प्रशासन कार्यालय, उपकार बचत तथा ऋण सहकारी संस्था,वालिङ उद्योग वाणिज्य संघ, भिमटारी युवाक्लब, बगाले टोल, नेपाल आर्दश क्याम्पसका विज्ञान विषयका विद्यार्थीहरु तथा आम सर्वसाधरणको सहभागिता रहेको थियो ।