समाचार
हामीले खोजेको सांस्कृतिक पहिचान हो—सचिव अर्याल
आँधीखोला खबर
वालिङ, २९ जेठ ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा कुमारी अर्यालले हामीले खोजेको सांस्कृतिक पहिचान भएको बताउनुभएको छ । लोकतान्त्रिक आदिवासी महासंघ स्याङ्जाको दोस्रो जिल्ला अधिवेशनमा सम्वोधन गर्दै पूर्वमन्त्री अर्यालले जातीय पहिचान भन्दा पनि सांस्कृतिक पहिचान हामीले खोजेको बताउनुभएको हो । ‘कतिपय जातीय पहिचानसहित प्रदेशको नामाङ्कन हुनुपर्ने आवाज उठ्ने गरेका छन् । हामीले सांस्कृतिक पहिचानका कुरा गर्नुपर्छ ।’
अहिले कोशी प्रदेशको नाम जातीय पहिचानको आधारमा हुनुपर्ने भन्दै केही समूह सडकमा आएको उल्लेख गर्दै केन्द्रीय सचिव अर्यालले यसमा सत्तापक्षबाट उक्साइएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो । सोझा साझा युवालाई उचालेर द्वन्द सिर्जना गराउने काम भएको छ । यसले अस्थिरता सिर्जना गराउने काम मात्रै भएको र यो राम्रो नभएको उहाँको भनाई छ । विश्वका धेरै मुलुकमा जाति र भाषाकारुपमा विभाजन गरेका व्यवस्था टिक्न नसकेको केन्द्रीय सचिव अर्यालले उल्लेख गनुभयो । जातीय आन्दोलन पारलाग्ने कुरा नभएको र वर्गीय आन्दोलनबाट मात्रै जातीय आन्दोलन सफल हुने पूर्वमन्त्री अर्यालको तर्क छ ।
अधिवेशनले देउकुमारी गुरुङको अध्यक्षतामा २२ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा टेकबहादुर दर्लामी, सचिव लक्ष्मी थापा मगर र उपसचिवमा सुमित थापा, सुमन गुरुङ र डम्वर राना तथा कोषाध्यक्षमा बुद्ध बहादुर आले चयन भएका छन् भने बाँकि सदस्यहरु रहेका छन् ।