समाचार
वालिङ नगरपालिकाद्वारा किसानहरुलाई बाख्रा वितरण
रेडियो आँधीखोला
वालिङ, ३२ जेठ ।
स्याङ्जाको वालिङ नगरपालिकाले किसानहरुलाई बाख्रा वितरण गरेको छ । बाख्रा पकेट क्षेत्रकारुपमा विकास गर्नका लागि बाख्रा वितरण गरिएको हो । नगरपालिकाले वडा नम्वर ५, १२ र १३ का विभिन्न समूहलाई साझेदारीमा बाख्रा वितरण गर्दै पकेट क्षेत्र विकासमा लागेको हो । यो आर्थिक वर्ष नगरपालिकाले बाख्रा पकेट क्षेत्र विकासका लागि १५ लाख छुट्याइएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत वार्षिक सशर्त कार्यक्रममा विनियोजित १५ लाख रकमबाट ३ वटा स्थानका समूहलाई समेटेर बाख्रा पकेट क्षेत्र विकासमा लागिएको हो । यसमा किसानको ५० प्रतिशतसहित ३० लाखको लागत साझेदारीमा बाख्रा पकेट क्षेत्र विकास गरिने भएको हो । बाख्रा तथा बोका खरिद, बीमा, तालीम, खोर निर्माण, घाँस, बीउ तथा बिरुवामा साझेदारी गरिने वालिङ नगरपालिका कृषि शाखा प्रमुख लेखनाथ अर्यालले जानकारी दिनुभयो ।
बुधबार वडा नम्वर १३ को पाठखोलामा एक कार्यक्रमका बीच किसानहरुलाई बाख्रा हस्तान्तरण गर्दै वालिङ नगरपालिका उप प्रमुख कविता तिवारी गैहे«ले कृषि उद्यमसँगै शिक्षा र स्वास्थ्यका क्षेत्रमा आमूल परिवर्तन गर्ने उद्देश्यले नगरपालिका लागेको बताउनुभयो ।
उहाँले बाख्रापालन गरेर मासुमा आत्मनिर्भर भई पैठारी गर्नसक्ने हुनुपर्नेमा जोड दिनुभयो । बास्तविक किसान भएर काम गर्न आग्रह गर्दै नगर उप प्रमुख गैहे«ले किसानहरुको साथमा नगरपालिका रहने विश्वास व्यक्त गर्नुभयो । पढनु लेख्नु जागिर खानका लागिमात्र नभएर कुशल उद्यमी बन्नु पनि भएको उहाँको भनाई छ ।
महिला दिदी बहिनीहरु सक्रीयरुपमा लाग्नुपर्छ । बुहारीहरुले विशेष ध्यान दिनुपर्छ । यसमा वातावरण बनाउने काम नगरपालिकाको हो, बनाउँछ, नगर उप प्रमुख गैहे«ले भन्नुभयो । हामी उद्यमी बनेर आय आर्जनमा लाग्नुपर्छ, अनि मात्र आत्मनिर्भर हुन सक्छौं । सबै मिलेर र लागेर समृद्ध नगरपालिका र सुखी नगरवासी बन्न सफल हुने उहाँको भनाई छ ।
यस अघि वडा नम्वर १२ को रिटर्न भिलेज बाख्रापालन समूह धनमुढालाई बाख्रा प्रदान गरिसकिएको छ । कार्यक्रम अनुसार बाँकी रहेको वडा नम्वर ५ को पाँडेथोक बाख्रापालन समूहलाई बाख्रा वितरण गरिने पशु सेवा शाखा प्रमुख अर्यालले जानकारी गराउनुभयो ।