समाचार
गिरीको निधनले स्याङ्जा कांग्रेस शोकमा, १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय
रेडियो आँधीखोला
वालिङ, ३ असार ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं चापाकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख शिव गिरीको निधनको शोकमा १३ दिनसम्म पार्टीको कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको उपस्थितिमा जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य राजु थापाको सभापतित्वमा बसेको आकस्मिक बैठकले पार्टीसित सम्बन्धित कुनै पनि औपचारिक कार्यक्रमहरु १३ दिनसम्म नगर्ने नगराउने निर्णय गरेको हो ।
बैठकले पार्टी कार्यालय स्याङ्जा तथा मातहतका पार्टी कार्यालयहरुका झण्डा तीन दिनसम्म आधा झुकाउने, पार्टी कार्यालय स्याङ्जा तथा मातहतका कार्यालयहरुमा १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
गिरीको शवलाई पर्सी सोमबार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म पार्टी कार्यालय स्याङ्जामा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने निर्णय भएको छ । श्रद्धाञ्जलीकालागि पार्टी तथा शुभच्छुक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत ईच्छुकहरुलाई पार्टी कार्यालय स्याङ्जामा उपस्थितिकालागि नेपाली कांग्रेस स्याङ्जाले अनुरोध गरेको छ ।
सोमबार दिउसो अन्तिम संस्कारका लागि ज्याग्दीघाटमा लगिने भएको छ । सवारी दुर्घटनमा परी ज्यान गुमाउनुभएका कांग्रेस नेता गिरीको निधले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेस स्याङ्जाका उपसभापति केदार काफ्लेले बताउनुभयो ।
शोकको यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन भनी गहिरो समवेदना प्रकट गरिएको उहाँले बताउनुभयो ।
यसैबीच पार्टीले शोक विज्ञप्ती प्रकाशित गरेको छ । नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती केदार काफ्ले र सचिव दामोदर लम्सालद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत शुक्रबार राती नेपाली कांग्रेस स्याङ्जाका नेता गिरी चापाकोट नगरपालिका देखी पुतलीबजार नगरपालिका स्याङ्जा आफ्नै निवासमा आउने क्रममा आस्कस्मीक दुर्घटना भई तत्काल स्याङ्जा जिल्ला अस्पतालमा उपचारको क्रममा दुःखद निधन भएकोमा नेपाली कांग्रेस स्याङ्जा गहिरो दुःख व्यक्त गरेको छ ।
स्वर्गीय नेता शिव कुमार गिरी नेपाली काँग्रेस स्याङ्जाको महाधिवेशन प्रतिनिधी,चापाकोट नगरपालिकाका निर्वतमान नगर प्रमुख, नेपाली काँग्रेस स्याङ्जाका पूर्व सचिव, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य, तत्कालिन मल्याकोट गा.वि.स.का अध्यक्ष, नेपाल तरुण दल स्याङ्जाका पूर्व अध्यक्ष, नेपाल विद्यार्थी संघ स्याङ्जाका पूर्व अध्यक्ष, तत्कालिन जिल्ला विकास समितिका सदस्य, शान्ति समिति स्याङ्जाका जिल्ला अध्यक्ष, मल्याङ्कोट चिन्नेवास शेखाम सामुदायिक विद्युतका अध्यक्ष, राम मन्दिर मा.वि. मल्याङ्कोट का पूर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संस्थाहरुको नेतृत्वमा रहि सामाजिक कार्य गर्दै आईरहनुभएको गिरीको निधनले सिंगो पार्टीलाई क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस स्याङ्जाले एक अभिभावक गुमाएको र उहाको अभाव सदैव खड्किरहने र उहाँको अधुरो सपना पुरा गर्न पार्टी प्रतिवद्ध भएर लाग्ने विज्ञप्तिमा उल्लेख छ ।