समाचार
स्याङ्जामा नयाँ भाडादर कायम गर्नका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, २७ असार ।
स्याङ्जामा नयाँ भाडादर कायम गर्नका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम अगाडि बढाएको छ । जिल्लाका ग्रामिण तथा पक्की सडकमा गुड्ने सवारी साधनहरुले मनपरि भाडा असुल्ने गरेको भन्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा बैठक बसि केही दिन अघि मात्रै नयाँ भाडादर लागु गर्ने निर्णय गरेको थियो ।
अहिले भाडादर कायम गर्नका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरिरहेको गल्याङ ट्राफिक पोस्टका इन्चार्ज मिथलेस यादवले जानकारी दिनुभयो । कालीगण्डकी गाउँपालिका १ हटियामा स्थानीय नागरिक र यातायात धनीहरुलाई एकै ठाउँमा भेला गराएर नयाँ भाडादर यातायातका साधनमा टाँस्नुपर्ने र यातायातका साधनहरुले बढी भाडा लिएमा प्रहरीलाई सम्पर्क गरेमा कार्बाही गरिने यादवको भनाई छ ।
गाउँमा कहिल्यै ट्राफिक नआउने बढी भाडा लिएको गुनासो गरेपछि कतै जानू पर्दा गाडी नरोक्ने, सवारी धनी रिसाउने जस्ता समस्याले गुनासो नगरेको स्थानीले बताएका थिए । स्थानीय नागरिकको सेवाको लागि ट्राफिक प्रहरीले जिल्लाका सबै कच्ची तथा पक्की सडकमा लागू भएको भाडा लिन आग्रह गरेको छ । यदि नयाँ भाडादर कायम नभए जनगुनासोको आधारमा कार्बाही गरिने कालीगण्डकी यातायात समिति गल्याङका कार्यलय सचिव प्रकाश भट्टराईले बताउनु भयो ।