समाचार
पुतलीबजारको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा कानून विषय पढाइँदै
रेडियो आँधीखोला
वालिङ, २७ असार ।
स्याङ्जामा पनि कानून विषयको पढाइ सुरु भएको छ। पुतलीबजार नगरपालिका–१ मालेबगरस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका कानून विषयको पढाइ सुरु भएको हो। केही दिनअघि मात्र एसईईको नजिता सार्वजनिक भएसँगै क्याम्पसले पनि नयाँ भर्ना सुरु गरेको छ। यो कानून विषयमा अध्ययन गराउने जिल्लामै पहिलो सामुदायिक क्याम्पस हो।
कानून विषय पढ्न चाहने विद्यार्थीलाई आफ्नै गाउँघर जिल्लामै सहज रूपमा अध्ययन गर्न पाउन भन्ने उद्देश्यले कक्षा ११ मा कानून विषयको पढाइ सुरु गरेको क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले जानकारी दिनुभयो । प्रमुख सिग्देलका अनुसार, ‘कानून सबैले जान्नु पर्ने विषय हो। र, कानूनको अज्ञानता क्षम्य हुँदैन।’ क्याम्पसमा कक्षा ११ देखि स्तातकोत्तर तहसम्मको पढाइ हुन्छ। कानून लगायत, मानविकी, व्यवस्थापन र शिक्षा संकायमा पनि पढाइ हुन्छ यहाँ।’
कानुनमा स्नातक गरेपछि धेरै अवसर पाइने भएकाले कक्षा ११ मा कानून विषय रोजेको स्वीकृति पोखरेल बताउनुहुन्छ । सँगै प्रमिला भण्डारी र सलिना कुँवरले पनि १२ उत्तीर्णपछिको स्नातक तहमा कानून पढ्दा सहज पुग्ने बताउनुभयो । कानुनतर्फ स्नातक तहमा बिएएलएलबी, एलएलबी र पाँच वर्षे बिएएलएलबी अध्ययन गर्नेमा युवा पुस्ताको आकर्षण बढेको पाइन्छ। कानुनी शिक्षाले अवसरसँगै व्यक्तित्व विकासमा सहयोग पु¥याउँछ।
विस २०४६ सालमा प्रजातन्त्रको स्थापनापछि २०४८ सालमा सदरमुकाममा त्रिभुवन क्याम्पस स्थापना गरिएको हो। उच्च शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटाउँदै आइ ए (प्रविणता तह) बाट सुरु गरिएको सो क्याम्पसमा हाल स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुँदै आएको छ।