समाचार
कुरिलोको बजार मुल्य राम्रो भएपछि स्याङ्जाका किसान व्यवसायिक कुरिलो खेतीप्रति आकर्षित हुँदै
रेडियो आँधीखोला
वालिङ, ४ साउन ।
स्याङ्जाका किसान पछिल्लो समय कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापाकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ ।
भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गर्नुभएको थियो । उहाँको खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आउनुभएको छ ।
रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताउनुभयो । “सिजन अनुसार कुरिलोको मूल्यप्रति किलो तीन सयदेखि तीन हजारसम्म पर्ने गर्दछ”, उहाँले भन्नुभयो । रेग्मीले जमिन भाडामा लिएर घेराबार, बिरुवा, बीउ, मल, उपकरणलगायतमा रू ८० लाख बराबर खर्च गरिसकेको जानकारी दिनुभयो ।
हाल रेग्मीको फार्ममा सात जनाले दैनिक रोजगारी पाएका छन् । कुरिलोले मात्र काम नपुग्ने भएपछि स्टावेरी, मेवा, उखु, सुन कागती, खरबुजा, स्याउ, बयर, सुकमेललगायत फलफूल परीक्षणका लागि लगाएको रेग्मीको भनाइ थियो । “उत्पादनको क्षेत्रमा काम गरेर राज्यलाई योगदान दिनुपर्छ भनेर कृषि कर्ममा लागेको हुँ”, उहाँले थप्नुभयो, “कृषिको विकास र समृद्धिको लागि यन्त्रिकरणमा जोड दिनुपर्छ, कृषियन्त्र चलाउन सक्ने जनशक्तिको अभाव छ ।” दश जनाले गर्ने काम एकै जनाले गर्न सक्ने प्रविधि भित्रिए मात्र नेपालमा कृषि क्रान्ति सम्भव हुने रेग्मीको भनाई छ ।
त्यस्तै पुतलीबजार नगरपालिका–१४ की सारदादेवी ढकालले पनि चार वर्षदेखि कुरिलोको व्यावसायिक खेतीगर्दै आउनुभएको छ । नगरपालिकाले दिएको कुरिलो खेतीसम्बन्धी तालिम लिएपछि व्यवसायिक खेती सुरु गरेको उहाँले बताउनुभयो । ढकालले सारदा एकीकृत कृषि फार्म दर्ता गरेर साढे तीन सय बोट कुरिलो हुर्काइरहनु भएको छ । पहिलो र दोस्रो वर्ष आम्दानी लिन नसके पनि तेस्रो वर्षबाट मनग्ये आम्दानी लिन थालेको उहाँले बताउनुभयो ।
त्यस्तै गल्याङ नगरपालिका–७ स्थित मझुवा नमुना कृषि उत्पादन केन्द्रले पनि एक वर्षदेखि कुरिलो खेतीलाई जोड दिँदै आएको छ । केन्द्रले दुई रोपनी क्षेत्रफलमा करिब दुई हजार कुरिलोका बोट लगाएको छ । यस वर्षदेखि उत्पादन लिन सुरु गरिएको केन्द्रका अध्यक्ष ललित थापाले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा व्यावसायिक कुरिलो खेती गर्ने कम भए पनि घरमा खानका लागि कुरिलो लगाउने किसान धेरै भएको बताउनुभयो । उहाँले तीन वर्षयता कुरिलो खेती गर्ने किसानको सङ्ख्या जिल्लामा नै बढ्दै गइरहेको बताउनुभयो ।