समाचार
भीरकोटमा कृषकहरुलाई बंगुर र बाख्राका लागी औषधी र घाँसका विरुवाहरु वितरण
रेडियो आँधीखोला
वालिङ, ५ साउन ।
भीरकोट नगरपालिका र गण्डकी प्रदेशको साझेदारीमा संचालित नवप्रर्वतन साझेदारी कोष अन्र्तगत कृषकहरुलाई बंगुर र बाख्राका लागी औषधी र घाँसका विरुवाहरु वितरण गरिएको छ । नगरपालिका भित्र रहेका ९ वटै वडाका ५ समुहका १२५ जनालाई बाख्रा तथा बंगुरका लागी आवश्यक औषधी वितरण गरिएको हो । कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नगरलाई मासुमा आत्मनिर्भर बनाउनका लागी यस्ता परियोजनाहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै सोही अनुसार कृषकहरु पनि कटिवद्ध भएर व्यावसायमा लाग्नुपर्ने बताउनुभयो ।
व्यवसायिक रुपमा अगाडि बढ्न कृषकहरुलाई आग्रह गर्दै नगरप्रमुख कर्माचार्यले कृषकको साथमा नगरपालिका रहेको र नगरपालिकाले आवश्यक सहयोग तथा उत्पादित वस्तुहरुको बजारीकरणका लागी समेत समन्वय गरिदिने बताउनुभयो । ५ समुह मध्ये २ बाख्रापालन समुह र ३ समुह बंगुर पालन समुह गरी १२५ जना कृषकहरुलाई दुई हजार रुपैँयाको औषधीहरु वितरण गरिएको हो । साथै बाखा्रा र बंगुरका लागी आवश्यक घाँसका विरुवा समेत वितरण गरिएको छ ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, योजना अधिकृत यामप्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रम नगरप्रवक्ता तथा आर्थिक विकास समिति संयोजक दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन थानप्रसाद तिवारीले गर्नुभएको थियो । कार्यक्रममा वडा नंं ६ का अध्यक्ष लक्ष्मण खत्रि, वडा नंं. ८ का अध्यक्ष नन्दु खनालको समेत सहभागिता रहेको थियो ।