समाचार
विपि स्मृति दिवसको अवसरमा आज चापाकोटका सडक किनारमा फुलको विरुवा रोपिने
रेडियो आँधीखोला
वालिङ, ६ साउन ।
स्याङ्जाको चापाकोट नगरपालिकाका मुख्य सडक किनारमा फुलको विरुवा रोपिने भएको छ । ४१ औं विपि स्मृति दिवसको अवसरमा शनिवार (साउन ६ गते) नेत्र स्मृति प्रतिष्ठान चापाकोटको कार्यालयदेखि मुख्य सडक किनारमा गुल्मर र कल्की जातको फुलको बिरुवा वृक्षारोपण गर्न लागिएको नेपाली काँग्रेस चापाकोटका नगर सभापति विक्रम सारुले बताउनुभयो ।
चापाकोट नगरपालिकाले अगाडि ल्याएको फुल र फलफूलको विरुवा रोप्ने अभियानलाई सहयोग गर्ने उद्देश्यले ४१ औं विपि स्मृति दिवसको अवसरमा चार हजार फुलका बिरुवा सडक किनारमा लगाउन लागेको नगरसभापति सारुको भनाई छ । चापाकोट नगरपालिकाले सडक छेउछाउ फुलको विरुवा लगाई सुन्दर र रमणीय बनाउन लागिएको नगर प्रमुख देव बहादुर खाँण इश्वरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले सडक किनारमा फुल र कृषकको घर घरमा फलफूलको विरुवा लगाउने अभियानलाई तीब्रता दिएका छौँ । यो अभियान पाँच वर्ष चलिरहन्छ । अहिले फुलको विरुवा लगाउनको लागि खाल्टा खन्न अभियानलाई तीब्र दिएका छौँ ।”
चापाकोट नगरपालिकालाई लिची र आँपको पकेट क्षेत्र बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना इकाईको स्याङ्जा र नगरपालिकाको ५०–५० प्रतिशत अनुदानमा एक हप्ता अगाडि करिब तीस हजार विरुवा पालिकाका कृषकलाई निःशुल्क वितरण गरेको थियो ।