समाचार
आन्तरिक धार्मिक पर्यटन प्रर्वद्धनका लागी बोलबम यात्रा
रेडियो आँधीखोला
वालिङ, १९ साउन ।
आन्तरिक धार्मिक पर्यटकीय स्थलहरुको प्रर्वद्धनका लागी हरेक वर्ष बोलबम समिति देशका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्दै आएको छ । विषेश गरी साउन महिना बवित्र महिना मानिने भएकाले पनि बोलबम समिति वालिङले हरेक सोमबार शिवलिंगमा जल अर्पण गर्ने र हरेक वर्षको साउन महिनामा नेपालका विभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरुको भ्रमण गर्दै आएको छ । यसवर्षको २०औँ यात्रा सिन्धुपाल्चोकको पाँचपोखरीतर्फ प्रस्थान गरेका छन् ।
यहाँका स्थानीय युवाहरुले बोलबम समिति वालिङ गठन गरी हरेक साउन महिनामा धार्मिक स्थलहरुको अवलोकन गर्ने, विभिन्न दैवी विपदमा समेत सहयोग गर्ने, सामाजिक तथा रचनात्मक कार्यमा योगदान गर्दै आएको समितिका अध्यक्ष दिपेन्द्र तिवारीले बताउनुभयो । ६ दिनको कार्यक्रममा यहाँका झण्डै ५७ जना युवाहरु सहभागि छन् । समितिले यसअघि मुक्तिनाथ, पाथीभरा, दार्चुला, खप्तड, जलेश्वर धाम, अर्जुनधारा, हलेसी महादेवलगायतका धार्मिक स्थलहरुको भ्रमण गरेको छ ।
बोलबम समितिले धार्मिक पर्यटकीय गन्तव्यको भ्रमणसंगै वालिङ तथा स्याङ्जामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको जानकारी दिँदै यहाँको पर्यटनलाई देशभर चिनाउने काम समेत गर्दै आएको छ । स्याङ्जामा रहेका धार्मिक तथा ऐतिहासिक गन्तव्यको प्रचारप्रसार गर्न समेत बोलबम यात्राले सहयोग पुगेको छ । समितिका उपाध्यक्ष चन्द्रमान श्रेष्ठको नेतृत्वमा बोलबम टोली यसपटक सिन्धुपाल्चोक प्रस्थान गरेको हो ।