समाचार
छायाँक्षेत्र मन्दिरमा चौँथो सोमबार सम्म ४० हजार भक्तजनले मन्दिर दर्शन गरे
रेडियो आँधीखोला
वालिङ, २३ साउन ।
स्याङ्जा जिल्लाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिर छाङछाङदीमा साउनको चौँथो सोमबारसम्म ४० हजार भन्दा धेरै भक्तजनले मन्दिर दर्शन गरेका छन् । साउन महिनाको सोमबार मन्दिर दर्शन, स्नान तथा पुजापाठ गरेमा आफ्नो परिवारमा राम्रो हुने भएकाले टाढा टाढाबाट समेत भक्तजनहरु यहाँ आउने गर्छन् । साउन महिना शिव भगवानको महिना भएकाले साउन महिनाभर शिवालयहरुमा जाने शिव भगवानको उपासना गर्ने गरिन्छ भने विशेष गरी सोमबार ब्रत बस्ने मन्दिर जाने गरिन्छ । जिल्लाकै अति पवित्र धार्मिक स्थल मानीने छायाँक्षेत्रमा साउनको पहिलो सोमबार २० हजार भक्तजनले मन्दिर दर्शन गरेका थिए । विषेश गरी साउनको पहिलो सोमबार र अन्तिम सोमबार दर्शनार्थीको भीड हुने भएपनि अन्य सोमबार समेत भक्तजनहरुले मन्दिर दर्शन गरेका छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले बताउनुभयो ।।
श्रावण महिनामा शिवजीको ब्रत वस्दा मनोकाक्षां पुराहुने धार्मिक जनविश्वासका साथ साउन महिनाभरी चोखो खाएर भगवान शिवको उपासना गर्ने गरिन्छ । यसैबीच चौँथो साउनको सोमबारका अवसरमा छायाँक्षेत्र मन्दिर छाङछाङदीमा ७५ हजार ३२४ रुपैँया भेटि संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलका अनुसार मन्दिरमा दानपेटिकाबाट १३ हजार ५००, मन्दिर तथा भजनमण्डलीबाट २४ हजार, र सहयोग रसिदबाट ३७ हजार ८२४ गरी ७५ हजार ३२४ रुपैँया भेटि संकलन भएको हो ।
यसरी विभिन्न पर्व विषेशबाट संकलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख छ । श्रीस्वस्थानी वर्त कथामा भनिए अनुसार भगवान शिवले पहिलो बिबाह गरेका सतिदेवीको स्वर्गारोहण भएपछि अर्ध पागलको रुपमा सतीदेवीको मृत शरिर लिएर हिड्ने क्रममा गलेको शरिरको अन्तिम अंग खसेको धार्मिक बिश्वासका साथ छायाँक्षेत्र मन्दिरमा विशेष पर्वहरुमा भक्तजनको भिड लाग्ने गर्छ ।