समाचार
दुर्घटना न्युनिकरणमा सक्रिय ट्राफिक प्रहरी स्याङ्जा
वालिङ, १६ भाद्र ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले दुर्घटना न्युनिकरणका लागी जिल्लाभर चेतनामुलक कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न स्थानहरु, विद्यालयमा पुगेर प्रहरीले सचेतनामुलक कार्यक्रम गरेको हो । शुक्रबार भीरकोट ५ मा रहेको बालोदय माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम गरेको हो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रविण आचार्यलको नेतृत्वको प्रहरी टोलीले सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा वडा प्रहरी कार्यालय वालिङका प्रहरी सहायक निरिक्षक जितेन्द्र वोलीले हात्महत्या निरुत्साहन सम्बन्धी र ट्राफिक सम्बन्धी सचेतना प्रदान गर्नुभएको हो
कार्यालयका प्रमुख आचार्यले कारबाहीभन्दा पनि यात्रु, चालक, सहचालक सबैमा ट्राफिक चेतना बढाउनेमा आफ्नो जोड रहेको जानकारी दिनुभयो । नियम मिच्नेलाई कारबाही स्वभाविक भएको भन्दै उहाँले तर मुख्य कुरा जनचेतना बढाउनमा आफुहरु केन्द्रीत भएको बताउनुभयो । जनचेतना बढाउन सक्दा मात्र सवारी व्यवस्थापन स्वतः सहज र प्रभावकारी बन्ने र आफ्नो ध्यान विद्यार्थी, यात्रु, किसान, चालक, सहचालकसबैलाई ट्राफिक नियमका बारेमा सचेत बनाउनेतिर रहेको बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी दुर्घटना न्यूनीकरणका लागि भीरकोट न.पा. वडा नं ४ छाङ्छाङ्दी र बयरघारी बजार, पुतलीबजार नगरपालिकाको घुम्तीबजार, बाडखोला बजार र प्रगतिनगर, कालीगण्डकी गाउँपालिका अन्तर्गतको मिर्मी बजारमा ‘पार्किङ’, ‘नो पार्किङ’ जस्ता जनचेतनामुलक होर्डिङ बोर्डहरु राखेको ट्राफिक प्रहरी बलिराज महतले जानकारी दिनुभयो ।
त्यस्तै दुर्घटना न्यूनीकरणका लागि पुतलीबजार नगरपालिका–१ घुम्तीबाट संचालन हुने सम्पुर्ण सवारीहरुलाई निजी जग्गामा पार्किङ्को ब्यबस्था, पु.ब.न.पा. ३ बाडखोलामा एकतर्फी पार्किङको व्यवस्था, भीरकोट बजारमा जथाभावी सडकमा पार्किङ् गर्ने सवारीहरुलाई बसपार्क सञ्चालनमा ल्याई कार्यान्वयनमा ल्याइएको र वालिङ् नगरपालिका वडा नं.८ स्थित बसपार्कलाई सञ्चालनमा ल्याई ग्रामीण भेगमा चल्ने सवारीहरुलाई पार्किङ्को व्यवस्था मिलाइएको छ ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रविन आचार्यका अनुसार स्याङ्जामा पालिकाको स्वीकृतिविना सञ्चालनमा आएका अटो टेम्पोहरुलाई अनिवार्य रुपमा पालिकाको स्वीकृति लिई सञ्चालन गर्न निर्देशन दिईएको छ । उहाँले श्रावण महिनाको १ गते देखि हालसम्मा ३४५ वटा जनचेतनामुलक प्रशिक्षण कार्यक्रम संचालन गरी १२,५४० जना मानिसहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बताउनुभयो ।
त्यस्तै मा.प.से. गरी सवारी चलाउने २८० सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ भने श्रावण महिनाको १ गते देखि हालसम्ममा १४०० सवारीलाई कारबाही गरी रु. १३ लाख २५ हजार राजश्व सङ्कलन गरिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । स्याङ्जामा श्रावण महिनाको १ गते देखि हालसम्ममा २ वटा सवारी दुर्घटना भएका छन् भने २ मानिसको मृत्यु समेत भएको छ ।