समाचार
तिजको रौनक पर्यटकीय स्थलहरुमा पनि
रेडियो आँधीखोला,
अशोज १ वालिङ ।
पछिल्लो समय तिजको रौनक पर्यटकीय स्थलहरुमा पनि देखिन थालेको छ । जिल्लाका पर्यटकीय स्थलहरुमा दिदिबहिनी जम्मा भएर नाचगाँन गर्ने खानाका परिकार खाने चलन पनि देखिएको छ । महिलाहरुको विषेश पर्वका रुपमा मनाइँदै आईएको तिजको रौनक तिज अगाडि सातादशदिन देखिनै देखिएको थियो । यो बीचमा पार्टी प्यालेस देखि जिल्लाका पर्यटकीय स्थलहरुमा पुगेर पनि दर खाने गरिएको छ । पार्टी प्यालेस त विवाह ब्रतबन्धलगायतमा पनि गईने भएकाले नयाँ पर्यटकीय स्थलमा जाँदा छुटै अनुभव भएको बाहुनथान पर्या पर्यटीय स्थल वालिङ ११ मा दिदिबहिनीसंगै आउनुभएकी पुतलीबजार नगरपालिका वडा नं. १० की पार्वती रानाले बताउनुभयो ।
बाहुनथान पर्यटकीय स्थलबाट आँधीखोला किनारमा रहेको वालिङ बजार, हरियाली धानका फाँटहरुलगायतका दृष्य अवलोकन गर्न सकिने भएकाले दिदिबहिनीहरुको समुहले तिजको दर कार्यक्रम बाहुँनथानमा मनाएको उहाँले बताउनुभयो । बाहुनथानमा वालिङ सहित अर्जुनचौपारी, भीरकोटलगायतका अन्य पालिकाहरुबाट समते विभिन्न टोलका महिलाहरुले समुह समुह बनाएर रमाईलो गरेको बाहुनथान पर्या पर्यटकीय समितिले जनाएको छ । वालिङ स्थित बाहुनथान, घ्वाङखोला, सरसफाई केन्द्र वालिङलगायतका पर्यटकीय स्थलहरुमा गएर विभिन्न स्थानका महिला समुहहरुले यसपटकको तिज मनाएका हुन् ।
त्यस्तै वालिङ सरसफाई केन्द्रमा आफ्नो टोलका महिला दिदिबहिनीसंगै पुग्नुभएकी भीरकोट ५ की प्रतिमा थापाले पनि पार्टी प्यालेस भन्दा यहाँका पर्यटकीय स्थलहरुमा छुट्टै रमाईलो हुने बताउनुभयो । पर्यटकीय स्थलमा जाँदा खुल्ला ठाउँ, स्वच्छ हावा, मनोरम वातावरणले तिज पर्वको रौकतालाई थप बृद्धि गरेको थापाले बताउनुभयो । पछिल्लो समय तिजलाई भड्किलो रुपमा मनाईरहेका बेला केहि यस्ता समुहहरु पनि छन् जो आफ्नो मौलिकपनालाई संरक्षण गर्दै आएका छन् । यहाँका केहि महिला समुहहरुले तिज पर्वको मौलिक गितलाई संरक्षण गर्दै आएका छन् । तिज पर्वको धार्मिक महत्व, ऐतिहासिक महत्वलाई संरक्षण गर्दै सबै महिलाहरुको पहुँचमा पुग्ने गरी तिज पर्व मनाउने परम्पराको विकास हुनुपर्ने देखिन्छ ।