समाचार
वालिङमा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, २१ असोज ।
विश्व लगानीकर्ता सप्ताहको अवसरमा वालिङमा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरिएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल ब्रोकर्स एसोसियनको आयोजना , वालिङ उद्योग वाणिज्य संघको सहजीकरण प्रीमियर सेक्युरिटिज र कोहिनुर सेक्युरिटिजको व्यवस्थापनमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरिएको हो ।
वालिङ उद्योग वाणिज्य संघको सभा हलमा आयोजित धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा ब्रोकर एसोसिएसनको तर्फबाट प्रीमियर सेक्युरिटिजका वालिङ शाखा प्रमुख सूर्य प्रसाद खनालले प्रशिक्षण दिनुभएको थियो । खनालले धितोपत्र बजारको परिचय, बजारमा प्रवेश गर्ने तरिका, कारोबार गर्ने तरिका , बजारमा लगानी गर्दा हुने फाइदाहरू रजोखिम, धितोपत्रका प्रकार र बजारको वर्तमान अवस्थाका बारेमा प्रशिक्षण गराउनुभएको थियो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सुचना अधिकारी सुरेश न्यौपानेले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको बारेमा जानकारी दिदै सिडियससीको कार्यगत संरचना, यसले शेयर कारोबार गर्न प्रदान गर्ने सेवाहरूको बारेमा प्रशिक्षण दिएका थिए िउनले केन्द्रीय निक्षेप प्रणाली, शेयर रजिस्ट्रार मार्फत प्रदान गरिने सेवाहरू, राफसाफ तथा फर्छ्यौट र आस्वा सेवा लगायतका विषयमा समेत प्रशिक्षण दिनुभएको थियो ।
धितोपत्र बोर्डका तर्फका रञ्जना ठकुल्लतले देशको वित्तिय प्रणाली, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमा लगानी गर्दा हुने फाइदाहरू, दोस्रो शेयर बजारमा कारोबारका गर्दा कम्पनिको विषयमा थाह पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रीमियर सेक्युरिटिजका मन्दिप पुरीले धितोबजारमा किनबेच गर्दा कसरी अवसरको सदुपयोग गर्ने विषयमा धितोपत्र बजारका प्राविधिक पक्षहरूको बारेमा जानकारी गराउनुभएको थियो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेत नारायण श्रेष्ठ, लगानीकर्ता भीम प्रसाद पंगेनी, उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र प्रसाद अर्याल लगायतले धितोपत्र बजार र देशको वर्तमान आर्थिक परिदृश्यका बारेमा बोलेका थिए । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका पदाधिकारी , लगानीकर्ता , शेयर बजारसँग चासो राख्ने सर्वसाधारणहरूको उल्लेख्य सहभागिता रहेको थियो ।