समाचार
जातीय विचारको संकुचनमा अल्झन हुँदैन ः सभापति अर्याल
रेडियो आँधीखोला
वालिङ, २९ असोज ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापती भोजराज अर्यालले कोही पनि जातीय विचारको संकुचनमा अल्झन नहुने बताउनुभएको छ । विजया दशमीको अवसरमा आईतबार स्याङ्जाको भीरकोट नगरपालिकामा ब्राह्मण समाज नेपाल, भीरकोटले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् अर्थ तथा विकास समितिका सभापती अर्यालले यस्तो बताउनुभएको हो ।
मानवताको सेवामा समर्पित हुनु र सबै जातजातिको भाषा, धर्म , संस्कृतीको संरक्षण गर्नु सम्पूर्ण मानवहरूको साझा कर्तव्य भएको बताउँदै अर्यालले ब्राह्मण समाज फगत जातीय संगठन हुन नहुनेमा उहाँको जोड थियो । अर्यालले आगामी दिनमा मौलिक भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने साझा संगठनको रूपमा ब्राह्मण समाज नेपाल अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अर्यालले मौलिक र वैदिक संस्कारको संरक्षणको लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको बताउँदै आवश्यक हुनेले सम्पर्क आग्रह गर्नुभयो ।
कार्यक्रममा ब्राह्मण समाज नेपाल स्याङ्जाका अध्यक्ष पूण्य प्रसाद तिमिल्सिनाले वैदिक भाषा, धर्म संस्कारको संरक्षण र सही पुस्तान्तरणका लागि ब्राह्मण समाज नेपालको गठन भएको प्रष्ट पार्दै भीरकोटमा गुरूकुल संचालन गर्न ब्राह्मण समाज नेपाल, स्याङ्जाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै भीरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्यालले ब्राह्मण समाज एकताबद्ध भएर मौलिक धर्म संस्कृतिको रक्षा गरि आगामी पुस्तालाई हाम्रो, भाषा संस्कृति र रितिरिवाज सिकाउन सक्षम बन्नुपर्ने आवश्यक रहेको बताउनुभयो । त्यस्तै निवर्तमान नगर प्रमुख छायाराम खनालले हाम्रो संस्कार धार्मिक र वैज्ञानिक दृष्टिकोणले उत्कृष्ट र जीवनोपयोगी रहेको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी, भीरकोट वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल खनाल, विद्यार्थी पविन खनाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा वालिङ नगरपालिका वडा नं ११ का विष्णु प्रसाद पङ्गेनीले भीरकोट ८ मा रहेको शिव पार्वती गौशालालाई ११ हजार ५ सय ५७ रूपैयाँ दान गर्नुभएको थियो । कार्यक्रममा लुब्दीखोला भजन किर्तन समुहले भजन कृतन प्रस्तुत गरेको थियो ।