समाचार
जिल्ला ट्राफिक कार्यालयद्धारा दशैँमा साढे ६ लाख राजस्व संकलन
रेडियो आँधीखोला
वालिङ, कार्तिक १४ ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले दशैँ अवधिमा साढे ६ लाख राजस्व संकलन गरेको छ । घटस्थापना सुरु भएको असोज २८ गतेदेखि कार्तिक १० गतेसम्मको दशैँको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ट्राफिक नियम विपरित चलेका ८९५ सवारीलाई कारबाही गर्दा ६ लाख ५४ हजार राजस्व संकलन भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका सहायक हबल्दार हेम मल्लका अनुसार चाडपर्व लक्षित सडक सुरक्षा अभियान अन्तर्गत सवारी जाँचका क्रममा सवारी र चालकहरूमाथि कारबाही गरिएको हो । ट्रक ८५ कारबाहीमा पर्दा ६९ हजार, बस ११३ कारबाहीमा पर्दा ८० हजार, कार जिप २४६ कारबाहीमा पर्दा १ लाख ७४ हजार, ट्याक्टर ६६ कारबाहीमा पर्दा ५० हजार, ३०७ मोटरसाईकल कारबाहीमा पर्दा २ लाख ३१ ह्जार ५००, ट्याम्पो ६८ कारबहीमा पर्दा ४९ हजार ५०० राजस्व संकलन भएको छ ।
यो अवधिमा सबैभन्दा धेरै मोटरसाईकल कारबाहीमा परेका छन् भने मोटरसाईकल कारबाहीबाट धेरै राजस्व संकलन भएको छ । मोटरसाईकमा हिड्दा लाइसेन्स ब्लू बुक नलिएका, हेलमेट नलगाएका, ३ जना सवार गराएका, अनियन्त्रित गति, मापसे गरी सवारी चलाएका कारबाहीमा परेका छन् । त्यस्तै अन्य सवारी पनि मापसे गरी सवारी चलाएका, लाइसेन्स नलिएका, ओभर स्पिडलगायतका कारण कारबाहीमा परेका हुन् । गत वर्ष यहि अवधिमा ५०३ वटा सवारी कारबाहीमा परेका थिए भने यो वर्ष गतवर्ष भन्दा बढी सवारी कारबाहीमा परेका छन् ।
गतवर्षको दशैँ अवधिमा ५०३ सवारी कारबाहीमा पर्दा ३ लाख ७० हजार राजस्व संकलन भएको थियो । गतवर्ष भन्दा यसवर्ष प्रहरीले चेकजाँचलाई कडाईका साथ कार्यान्वयन गरेका कारण कारबाहीमा पर्ने सवारी र राजस्व धेरै संकलन भएको प्रहरीले जनाएको छ । गतवर्षको दशैँमा २ सवारी दुर्घटना भएका थिए भने यसवर्ष कुनै दुर्घटना नभएको प्रहरीले जनाएको छ ।
दशैँको अवधिमा ब्यापक चेकजाँच गरी बढी भाडा लिने सवारीलाई समेत कारबाही गरिएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सवारीले बढी भाडा लिएपनि यात्रुले भन्न नचाहाने अवस्था रहेको भन्दै प्रहरीकै सक्रियातामा दशैँको अवधिमा ८ वटा बढी भाडा लिने सवारीलाई कारबाही गरि बढी भाडा फिर्ता गराईएको सहायक हबल्दार मल्ले बताउनुभयो । यात्रुले गुनासो गरेको आधारमा एक सवारीलाई अधिकतम जरिवाना गरिएको भन्दो अर्को एक सवारीको कागजात प्रहरी कार्यालयमै रहेको प्रहरीले जनाएको छ ।