समाचार
चापाकोटमा नहर आए पनि ढुक्कहुने अवस्था छैन
रेडियो आँधीखोला
वालिङ, ६ मंसिर ।
स्याङ्जाको चापाकोट फाँट जिल्लाकै ठूलो र फराकिलो क्षेत्र हो । चापाकोट फाँटलाई खेतियोग्य भूमिकारुपमा लिइन्छ । यहाँको उर्वरतालाई उपयोग गरी उत्पादनमा जोड दिने हो भने जिल्लाबासीलाई पु¥याएर बाहिर निकासी गर्न सकिने किसानहरुको विश्वास छ । आकाशे पानीको भरमा खेतिपाती गरिदै आएको चापाकोट टारमा ज्याग्दीखोलाको नहर आएपछि किसानहरुलाई राहत महसुस गराएको हो ।
यहाँको आवस्यकतालाई मध्येनजर गरी २०२३ सालमा सर्वेक्षण गरी चापाकोट नगरपालिका वडा नम्वर ४ दार्शिङमा नहर निर्माण भएको हो । २०२६ देखि निर्माण थालनी भई २०५० सम्म आइपुग्दा आयोजनाले कच्ची नहर तयार गरी सिंचाई सुरु भएको हो । अहिले २०८० सालसम्म पनि नहर पक्की बन्ने कामले पूर्णता पाएको छैन । पाँच दशक पार गर्दासम्म पनि पक्की बन्न नसक्दा नहर आए पनि किसानहरुलाई ढुक्कहुने अवस्था छैन ।
चापाकोटको सुन्तलीटार जहाँ नगरपालिकाको कार्यालयसमेत रहेको छ । यहाँदेखि २७ किलोमिटर पूर्व दार्शिङमा नेपाल सरकार र एडिभीको साझेदारीमा नहर योजना सञ्चालनमा ल्याईएको हो । अहिलेसम्म सात किलोमिटरमात्र नहर पक्की हुनसकेको छ । यसबाहेक ३ किलोमिटर मेशिनरी प्रयोग छ भने बाँकि १७ किलोमिटर सबै कच्चीरुपमा नै छ ।
यो योजनाबाट १६ सय घरधुरीका १५ हजार भन्दा धेरै नागरिक लाभान्वित हुने चापाकोट टार सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद सुवेदी बताउनुहुन्छ । झण्डै १२ सय हेक्टरमा बाह«ै महिना सिंचाई सुविधा भएपनि वर्षेनी नहर भत्किने र अवरुद्ध हुने भएकाले किसानहरुलाई चिन्तित बनाएको ९ नम्वर वडा अध्यक्षसमेत रहनुभएका सुवेदीको भनाई छ ।
अध्यक्ष सुवेदीका अनुसार नहर मर्मत सम्भारका लागि भनेर गतवर्ष ४ करोडमा टेण्डर भएको थियो । अध्यक्ष सुवेदीले भन्नुभयो, ‘संघीय सरकारबाट यो बजेट कटौति भयो । क्रमागत अन्तर्गत जम्मा १ करोड बजेट छुट्टिएको थियो, त्यही पनि यो वर्ष परेन । सम्बन्धित निकायमा हार गुहार गरे पनि सुनुवाई नहुँदा थप चिन्तित बनाएको छ । जब वर्षात सुरु हुन्छ, तब यो वर्ष खेति लाउन पाइन्छ कि पाईंदैन भनी उपभोक्ताहरु चिन्तित हुने गर्दछन् ।’
कच्ची नहरबाट निर्वाह गर्दै आईरहेका कृषकहरुले व्यवस्था फेरिए पनि पाँच दशक पार गर्दासम्म पनि अवस्था नफेरिएको भन्दै गुनासो गरेका छन् ।