समाचार
गल्याङ ३ को आदर्श आवासीय माविमा विद्यार्थीद्धारा निर्मित विज्ञान सम्बन्धी सामाग्रीको प्रदर्शनी
रेडियो आँधीखोला
वालिङ, १५ मंसिर ।
स्याङ्जाको गल्याङ ३ मा रहेको आदर्श आवासीय माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनी गरेको छ । विद्यालयका विद्यार्थीहरुको सक्रियतामा विद्यालयमा विज्ञान, हस्तकला र कागजबाट निर्मित सामाग्रीहरुको प्रदर्शनी गरिएको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष लेखनाथ भट्टराईले विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउने माध्यम यो प्रदर्शनी बनेको बताउनुभयो ।
प्रदर्शनीका क्रममा अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । विद्यालयका प्रिन्सीपल केपी लामिछानेले अभिभावकहरुलाई पनि विद्यार्थीको क्षमताको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका तीन दर्जन भन्दा बढि विज्ञान तथा हस्तकला प्रदर्शनी गरिएको थियो ।
विद्यार्थीले भुकम्प आएको जानकारी दिने यन्त्र, अग्नी उत्सर्जन, पानी पर्ने तरिका सहितका प्रदर्शन गरेका थिए । यस्तै, मानव शरिरका भागहरु, पुराना कृषि औजारहरु पनि प्रदर्शनी गरिएको थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सीपल कुमार बस्नेतले गर्नुभएको थियो ।